नेपालमा बारम्बार भईरहने वर्षाजन्य विपद्

September 22, 2020

जुलाई ३१, २०२०

धर्म उप्रेती र कृति श्रेष्ठ

सन् २०२० मा वर्षाजन्य विपद्को प्रभाव कति?  

यो वर्ष मनसुनको सुरुवात जून १२, २०२० देखि भएको थियो । हरेक वर्ष सामान्यतया जून १० बाट सुरु हुने भएतापनि यस वर्ष दुई दिनको फरक प¥यो । मनसुन सुरु भएको दोस्रो दिनमा नै देशको २ स्थानमा पहिरो गयो, जसले पश्चिमी नेपालको पर्वत जिल्लामा ८ जनाको ज्यान लग्यो र २ घरहरू नष्ट बनायो । वर्षासँगै बाढी र पहिरो बढ्दा जूनको दोस्रो हप्ता मै देशका धेरै जिल्लाहरू प्रभावित भई मृत्यु सङ्ख्या, सम्पत्तिको क्षति, नोक्सानी बढ्दै गयो । र मनसुनको अत्याधिक वर्षाले नेपालको अधिकांश क्षेत्र तहसनहस बनायो । उदाहरणको लागि, जुलाई ९–१० मा २४ घण्टा मै बाढी र पहिरोको कारण म्याग्दी, लमजुङ, कास्की, रुकुम  (पश्चिम), जाजरकोट र गुल्मी जिल्लाका २३ जनाले ज्यान गुमाउनु प¥यो । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदन (जुलाई ३१, २०२०) अनुसार बाढी र पहिरोको कारण १६४ जना मानिसले ज्यान गुमाएका छन् (तलको चार्ट हेर्नुहोस्) । पहिरोको कारण मृत्यु भएका मानिसको तुलनामा बाढीले पु¥याएको क्षति न्यून छ । बाढीले ३ जनाको मृत्य भएको छ भने पहिरोको कारण १६१ जनाले ज्यान गुमाएका छन् र पहिरोमा ४५ जना हराईरहेका छन् ।  

विगतलाई हेर्दा, सन् २०१७ मा बाढीले मात्रै १५० जनाको मृत्यु, सन् २०१८ मा बाढी र पहिरोले १०५ जना र सन् २०१९ मा ११७ जनाले ज्यान गुमाए भने ३८ जना हराई रहेका छन् (राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र, २०१९) । सन् २०१५ मा भूकम्पले प्रभावित गरेका केही जिल्लाहरू बाहेक धेरैमा पहिरोले प्रभावित गरेको छ । सिन्धुपाल्चोक, गोर्खा, कास्की र म्याग्दी जिल्लाहरू पहिरोले सबै भन्दा बढी प्रभावित भएका छन् । प्रभावित भएका अन्य जिल्लाहरू कालीकोट, स्याङ्जा, गुल्मी, बझाङ, दार्चुला, बाजुरा र जाजरकोट पर्दछन् । धेरै गाउँ तथा बस्तीहरू विगतमा पहिरो गएका स्थानहरू वा आसपासका क्षेत्रमा अवस्थित छन् । सन् २०१५ मा गएको भूकम्पले १५ जिल्लाका भौगर्भिक अवस्थालाई कमजोर बनाएको छ र त्यहाँ देखि पहिरोको कारक तत्वको रुपमा देखापरेको छ ।

 

किन नेपालले हरेक वर्ष दुःख व्यहोर्नु परेको हो?

जल तथा मौसमजन्य विपद्हरू मध्ये बाढी र पहिरो नेपालमा दोहोरिईरहने प्रमुख विपद्हरू हुन् । यद्यपि, पछिल्ला केही वर्षहरूमा पहिरोले धेरै मानिसको मृत्यु भएको, जीविकोपार्जनका उपायहरू र सम्पत्तिमा क्षति पु¥याएको छ । अधिकांश जल उत्पन्न विपद्हरू मनसुनको समय (जून–सेप्टेम्बर) मा हुने गर्छ, जुन समयमा वर्षभरीको तुलनामा ८० प्रतिशत वर्षा हुन्छ । यो वर्ष, अपेक्षा गरिएको औषत वर्षा भन्दा देशमा बढी बर्षा भयो । चित्र १ ले देशमा भएका कुल वर्षाको अवस्थालाई जनाउँछ र यसले धेरै घटनाहरूमा अपेक्षित भन्दा बढी औषत वर्षा भएको देखाउँछ ।

प्रत्येक वर्ष, देशको दक्षिणी भूभागलाई मनसुनको बाढीले सताईरहेको हुन्छ भने पहाडी जिल्लाहरूलाई पहिरोले प्रभावित गर्दछ । नेपालमा बारम्बार बाढी र पहिरो आउनुमा दुवै प्राकृतिक र मानवजन्य कृयाकलापहरू जिम्मेवार छन् । करिब ८३ प्रतिशत हिमाली भूभागमा कमजोर र संवेदनशील भौगर्भिक बनावट रहेको छ, जुन टेक्टोनिकली सक्रिय क्षेत्र अन्तर्गत पनि पर्दछन् । जब प्रत्येक वर्ष मनसुनको समयमा वर्षा हुन्छ, त्यसपछि देशका धेरैजसो स्थानमा पहिरो जाने गर्दछ ।  ती स्थानहरू भिरालो जमिन भएकाले हिमाली क्षेत्रबाट बहने नदी, शाखा नदी र खोलानाला अत्यन्तै तिब्र गतिमा बग्छन् जसले देशका अधिकांश स्थानमा पहिरो जान बल पुगी रहेको छ । लगातार आईरहने अत्याधिक वर्षाले कमजोर भूबनोट भएको पहाडी स्थानहरूमा पहिरो जान्छ र बग्दै आएको थेग्रो वा टुटेफुटेका टुक्रा (ढुङ्गा र माटोको समिश्रण) जब बाढी भईरहेको नदीमा मिसिन्छ, त्यसले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायमा अत्यन्तै ठूलो बाढी सिर्जना गर्छ । वर्षाको निरन्तर अवस्थामा परिवर्तन भएको र सन् २०१४ देखि अझ गम्भिर र अनियमित भएकोले ठूलो बाढी सिर्जना गर्न र पहिरो ल्याउन मद्धत गरिरहेको छ । 

यी बाहेक, जनसङ्ख्या बृद्धि हुनु, जोखिमयुक्त स्थानमा गैरकानुनी तरिकाले बसोबास गर्नु र ईञ्जिनियरिङ ज्ञान बिना नै जथाभावी रुपमा सडक निर्माण गर्नाले पहाडी क्षेत्रहरूमा पहिरो जाने गरेको छ । भूउपयोगको उपयुक्त अभ्यास नगण्य रुपमा भएको र प्रकोपहरू विपद्मा परिणत हुँदा धेरैले ज्यान गुमाउनु परेको छ भने प्रशस्त सम्पत्ति नोक्सान भएका छन् । प्रत्येक वर्ष, मनसुनको समयमा हुने वर्षाले तराईमा सिर्जना गरेको बाढी र डुबान यसका साक्षी हुन् । अधिकांश बस्तीहरू नदी छेउमा अवस्थित छन् र नदी बग्ने प्राकृतिक बाटोहरू अतिक्रमण भएका छन् । नेपालका समथर भूभागहरू साना बस्तीहरू देखि ठूला शहरहरू सम्म फैलिएको छ । केही सहरी क्षेत्र जुन योजनाबद्ध रुपले विकास भएका छन्, ती बाहेक अधिकांश ठूला बस्तीहरू मानिसको बँसाइसराईले भरिएका छन्, भारतको नजिक रहेको र बजारको अवसर छ । तर तिनीहरूले घरहरू निर्माण गर्दा जोखिमको संवेदनशीलतालाई वेवास्ता गरिरहेको पाईन्छ । प्रायः सबै नदीहरू पहाडी तथा हिमालय क्षेत्रबाट सुरु भई तराईका समथर भूभाग हुँदै बग्दछन् । जब मध्य पहाड र हिमाली भेगमा अधिक वर्षा हुन्छ, जल सतह बढ्दै जान्छ र बस्तीहरूमा प्रवेश गर्छ । 

नेपालको चुरिया क्षेत्रमा भने अवैध रुपमा बालुवा, गिट्टी र ढुङ्गाहरू सङ्कलन भएकाले पहिरोको जोखिम बढेको छ  र त्यसले तल्लो तटीय क्षेत्रका बस्तीहरूमा बाढी सिर्जना गर्दछ । चुरिया भावर  (मध्य–पहाडी क्षेत्र जसलाई महाभारत रेञ्ज पनि भनिन्छ) क्षेत्रमा नदीजन्य पदार्थहरू उत्खनन् हुनु, वन फँडानी हुनु र वनक्षेत्र गिरावट हुँदा पानीको पुनर्भरण प्रकृया कमजोर भएको, पानी बग्ने ठाउँ विचलित वा अवरुद्ध भएको र अव्यवस्थित सडक निर्माण भईरहेको स्थानबाट पानी बग्दा त्यसले प्रशस्त माटो र बालुवा बगाएर ल्याउँदा बाढीको मात्रा र गति बढ्दै होचो समथर जमिनमा प्रवेश गरी डुबान गर्ने र भौतिक संरचनाहरू नष्ट गर्ने गरेको छ । त्यसकारण, नदी किनार अतिक्रमण हुनु, विगत देखिको नदी बग्ने बाटो साँगुरो हुँदा नदी तथा खोला बग्ने बाटो वा ठाउँ परिवर्तन भई समथर भूभागका बस्तीहरूमा डुबान हुन्छन् । 

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा निकायहरू नजोडिनु 

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा कार्यरत निकायहरू जसरी लाग्नु पथ्र्यो त्यसरी जोडिन सकिरहेका छैनन् । यसले विपद् जोखिम न्यूनीकरणका सम्पूर्ण प्रणालीलाई कमजोर र कम संवेदनशील बनाएको छ । संघीय तहमा, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण स्थापना भएको छ ।  ऐनले प्राधिकरणलाई पूर्वतयारीका कार्य गर्न र देशमा विपद् व्यवस्थापनका सम्बन्धमा अनुसन्धान देखि स्रोत व्यवस्थापन सहित २५ किसिमका भूमिका निर्वाह गर्न पर्याप्त अधिकार दिएको छ । तर पनि, अझ सम्म प्रदेश र स्थानीय सरकारसँग सम्बन्ध स्थापित हुन सकिरहेको छैन । अन्य निकाय र संघसंस्थाहरूसँग सञ्चार प्रकृया र व्यवस्थापनको पद्धती पनि प्रष्ट हुन सकिरहेको छैन । जोखिमको सूचना प्रवाह गर्न पनि अन्य निकायसँग निर्भर रहनु परिरहेको छ । जस्तैः जल तथा मौसमजन्य प्रकोपहरूको लागि जल तथा मौसम विज्ञान विभाग, क्षति तथा नोक्सानी सम्बन्धी जानकारीको लागि जिल्ला प्रशासन कार्यालयसँग निर्भर रहनुपरेको छ । प्राधिकरणलाई स्थानीय सरकार मातहतमा गठित स्थानीय विपद् व्यवस्थापन समितिहरू र प्रदेश सरकारको मातहतमा गठित प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिहरूलाई आदेश दिने वा मार्गनिर्देशिका प्रदान गर्ने जनादेश छैन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण साझास्थल (प्लेटफर्म) बनेको छ । यस मन्त्रालयमा वातावरण तथा विपद् जोखिम व्यवस्थापन शाखा पनि रहेको छ जसलाई विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारीका कार्य गर्ने जनादेश दिईएको छ । गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले आपत्कालीन प्रतिकार्यमा केन्द्रित कार्य गर्छ भने प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रले प्रदेश स्तरमा, जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रले जिल्ला स्तरमा र स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रले स्थानीय स्तरमा केन्द्रित भई कार्य गर्छ । 

केही नगरपालिकाहरूमा, स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रले काम गर्न सुरु गरेको छ भने अधिकांश पालिकाहरूमा यो स्थापना नै भएको छैन । प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्र, जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र र स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र बाहेक, प्रदेश स्तरमा प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति र स्थानीय स्तरमा स्थानीय विपद् व्यवस्थापन समिति गठन भएका छन् । यसले के दर्शाउँछ भने हामी संस्थागत संरचनाको दृष्टिकोणमा सबल छौं । तर, तिनीहरूको कार्यशैलीमा अझ पनि प्रश्न खडा भएको छ । थप, जल तथा मौसम विज्ञान विभागसँग केही बेसिन कार्यालयहरू सञ्चालनमा छन् । तर, बेसिन कार्यालयमा मात्र नभई विभागमा पनि पर्याप्त मानवस्रोत छैन ।   

 

सबैभन्दा महत्वपूर्ण कार्य ७५३ स्थानीय विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउने, क्षमता विकास गर्ने र विपद्बाट मानिसको जीवन र जीविकोपार्जन जोगाउन जिम्मेवार तथा उत्तरदायी बनाउनुपर्छ । यी स्थानीय विपद् व्यवस्थापन समितिहरूसँग सम्पूर्ण सामग्रीहरू हुनु आवश्यक छ र जल तथा मौसम विज्ञान विभागको वास्तविक समय (रियल टाईम) मा आधारित पूर्व सूचना प्रणालीसँग सिधै जोडिनुपर्छ । सबै तहमा विपद् पूर्वतयारीका कार्यलाई प्राथमिकतामा राखिनुपर्छ । स्थानीय सरकारलाई विद्यमान प्रकोपहरू र सङ्कटासन्न अवस्था बारे ज्ञान हुनुपर्छ । उहाँहरूले भौगर्भिक क्षेत्रको अध्ययनमा लगानी गर्नुपर्छ । जमिनको वर्गिकरण गरी ट्राफिक लाईट सिस्टम जस्तो गरी सिमाङ्कन गरिनुपर्छ । जस्तैः रातोले जोखिमयुक्त क्षेत्र, एम्बर (गाढा पहेंलो) ले बस्ती बस्न पनि सक्छ वा कम प्रभावित क्षेत्र र हरियोले सुरक्षित बस्तीयोग्य क्षेत्र भनेर किटान गर्नुपर्दछ ।

त्यस्तै, जल तथा मौसम विज्ञान विभागले समुदायलाई वर्षा अनुसार जोखिमयुक्त तह (१ घण्टामा ६० मि.मि., ३ घण्टामा ८० मि.मि., ६ घण्टामा १०० मि.मि., १२ घण्टामा १२० मि.मि. र २४ घण्टामा १४० मि.मि.सङ्कलित वर्षा) को आधारमा सचेत (अलर्ट) गर्न सक्छ । स्थानीय सरकारले समेत सम्बन्धित समुदायलाई पूर्व सूचना गर्नुपर्छ र सम्भावित विपद्को अवस्थालाई हेरी स्थानान्तरणमा सहयोग गर्नुपर्छ । यसले बहुप्रकोपमा आधारित जोखिम घटाउनलाई योगदान गर्नेछ । साथै, जीवन बचाउन र सम्पत्ति सामान नोक्सान हुनबाट जोगाउँछ । 

स्थानीय सरकारले अझै पनि उत्थानशीलता अभिबृद्धिका अवधारणालाई आत्मसात गर्न सकिरहेका छैनन् । तिनीहरू विपद् पश्चातको उद्धार र राहत कार्य मै केन्द्रित हुन्छन् । प्रकोपहरू बढ्दै जाँदा सङ्कट र प्रभाव स्तर बृद्धि हुन्छ र समुदायको क्षमता घट्छ । विपद्को प्रभावले कमजोर बन्दै सम्पूर्ण पद्धतीहरू समुदायको उत्थानशीलता भन्दा टाढा पुग्छ । 

थ्रेसोल्डमा आधारित पूर्व सूचना प्रणाली र सबै स्थानीय सरकारसँग सम्बन्ध विस्तारले श्रेणीवद्ध रुपमा एक विपद्बाट अर्को विपद् हुनमा रोक्छ र एउटा प्रकोपमा रोकावट पैदा गरी अर्को प्रकोपजन्य विपद् हुनबाट बचाउँछ । यो भन्नु गलत नहोला कि, नेपालमा सबै तहका सरकार पूर्वतयारीका उपायहरू र पूर्व अनुमानमा आधारित कार्यहरूमा लगानी गर्नुभन्दा विपद् पश्चात राहत र पुनर्लाभ मै केन्द्रित छन् । यसरी सरकारी निकाय उद्धार र पुनःस्थापनाका कार्यमा बढी केन्द्रित हुँदा बाढी र पहिरोको मूल कारणलाई सम्बोधन गर्न सकिरहेका छैनन् । देशको कुनै एउटा भूभागमा विपद्ले आघात पु¥याएमा सबै तहका सरकार उद्धार र राहत वितरण सम्बन्धी कार्यका लागि जुट्छन्, जुन विपद्को सिद्धान्तको विपरित छ । उद्धार र पुनःस्थापनाका कार्य धेरैजसो सजिलै पहुँच हुने स्थानमा केन्द्रित भए । साँच्चै भन्ने हो भने सञ्चार क्षेत्रलाई आकर्षण गरी सरकारले केही गरेको छ भन्ने सन्देश दिनका लागि मात्र । तर यो अनुत्पादक र सुस्ती कार्य हो । विपद्ले प्रभावित गरेको समुदाय÷परिवारको ठूलो हिस्सा जस्ताको तस्तै रह्यो जसले लामो समय सम्म राहत (खाना र आश्रय) सहयोगको अपेक्षा गरिरहनु प¥यो । यद्यपि, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ ले स्पष्टसँग विपद्मा कसरी संलग्न हुने भन्ने विषयमा तीनै तहका सरकारको भूमिका तथा जिम्मेवारी किटान गरिदिएको छ । अनुभवलाई हेर्दा अर्कै वा फरक अवस्था झल्काउँछ । तोकिएको भूमिका तथा जिम्मेवारीहरू न त सरकारले प्रचारप्रसारमा ल्यायो, न त समयमा कार्यान्वयन मै आए । लामो समयसम्म सरकारको ध्यान उद्धार र राहत वितरणमा नै केन्द्रित भयो । 

धेरै संघसंस्थाहरू जस्तै प्राक्टिकल एक्शनले जल तथा मौसमजन्य विपद्सँग सम्बन्धित रही समुदायको उत्थानशीलता बृद्धिका लागि कार्य गरिरहेको छ । त्यस्तै, सरकारको चासो र प्राथमिकता विपद् पूर्वतयारी र न्यूनीकरणमा केन्द्रित गर्न धेरै प्रयासहरू भए । सरकारको नेतृत्व र अन्य सरोकारवालाहरूको सहयोगमा विपद् जोखिम न्यूनीकरणमा प्रशस्त राम्रा कार्यहरू भएका छन् । र पछिल्लो चार, पाँच वर्षमा नेपालमा स्थापना गरिएको पूर्व सूचना प्रणालीको विकासमा उल्लेख्य मात्रामा परिवर्तन भएको छ, जसले पूर्व सूचनामा समुदायको विश्वास बृद्धि गरेको छ । जल तथा मौसम विज्ञान विभागले जल तथा मौसम सम्बन्धी जानकारी वा तथ्याङ्क सङ्कलन एवं विश्लेषण गरी जल प्रवाह वा सतहको बारेमा सूचनाहरू संप्रेषण गर्छ, मौसम पूर्वानुमान र पूर्वसूचना एस.एम.एस.मार्फत प्रभावित समुदाय सम्म प्रेषित गर्दछ । यस कार्यालयबाट बुलेटिन जारी हुन्छ र देशको विभिन्न स्थानको जलको मात्राको आधारमा प्रेश विज्ञप्ती समेत प्रकाशित गर्छ । बुलेटिन हरेक दिन दुई पटक र वर्षा तथा बाढीको पूर्वानुमान दिनमा तीन पटक सम्म प्रकाशन वा प्रशारण गरिएको छ । विभागले बाढी पूर्वानुमान प्रणाली स्थापना गरी जल सतहको बारेमा जानकारी प्रदान गर्ने र नेपालका मुख्य नदीहरूमा आधारित पूर्व सूचना प्रणाली विकास गरेको छ । साथै, एस.एम.एस., वेबसाईट र सार्वजनिक सञ्चार माध्यम (सोसल मिडिया) मार्फत बाढी पूर्व सूचना सम्प्रेषण गरिन्छ । बाढी पूर्वसूचना प्रणाली प्रभावकारी माध्यम भएको ठहर गरिएको छ, जुन एकै समयमा समुदायमा आधारित संस्थाहरू र जल तथा मौसम विज्ञान विभागको राडार प्रणालीसँग जोडिन्छ । 

पहिरो पूर्व सूचना प्रणाली अझै विकसित हुन र भरपर्दो सूचना दिन बाँकी छ । अहिले सम्म हामी वर्षाको थ्रेसोल्डलाई पहिरोसँग जोडिरहेका छौं । आगामी दिनमा प्रशस्त अनुसन्धान र विकासका प्रयासहरू पहिरो सम्बन्धी कार्यका लागि केन्द्रित हुनुपर्दछ । 

<यस लेखको अंग्रेजी संस्करण  Global Flood Resilience Portal  मा  Explaining Nepal's deadly landslides को नाममा प्रकाशित भईसकेको छ। >

 

 

 

 

 

 

 

 

 

 


प्रतिकृया

अघिल्लो कथापछिल्लो कथा

अन्य कथाहरु

प्रश्न सोध्नुहोस्