बदलिंँदो मनसुन र एकीकृत विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

August 13, 2020

– विक्रम राना

श्रावण २०७७ 

भर्खर मात्र मेलम्ची खानेपानी आयोजना , पर्वतको बारबेनीको लिफ्टिङ् खानेपानी आयोजना  र मध्य भोटेकोशी जलविद्युत आयोजनामा  भएको क्षतिले हामी प्रकोपको कुन स्तरको जोखिममा छौं भन्ने ज्वलन्त उदाहरण प्रस्तुत गरेको छ । विपद्ले हाम्रो विकासका प्रयासहरूलाई जोखिमयुक्त बनाउन सक्छ र हामीलाई गरिबीको दिशातर्फ धकेल्छ । प्राकृतिक प्रकोपहरू बाढी, पहिरो, हावाहुरी, असिनापानी, आगलागी र हिमताल विष्फोटनले ८० प्रतिशत भन्दा बढी नेपालका जनसंख्या जोखिममा छन् (गृह मन्त्रालय, २०१८, सन्) । जर्मन अनुसन्धान टोली, जर्मनवाचले प्रकाशन गरेको विश्वव्यापी जलवायुजन्य जोखिम सूचकाङ्क (२०१९्) मा मौसमजन्य प्रकोपको कारण २०१७ (सन्) मा भएको क्षतिको दृष्टिकोणले विश्वमा नेपाल जोखिमको चौंथो स्थानमा रहेको देशमा पर्दछ। 

सबै प्रकारका ज्ञान हुँदा हुँदै पनि मनसुनले हाम्रो देशलाई प्रत्येक वर्ष आघात पु¥याउँछ र मनसुनको आगमनसँगै विपद् पूवतयारी, प्रतिकार्य र पुनर्लाभको आवश्यकतालाई झल्काउँछ । यसले विपद् पूर्वतयारीको प्राथमिकता सम्बन्धी भनाई “विपद् पूर्वतयारीमा एक डलर लगानी गर्दा भविश्यमा हुनसक्ने पाँच डलर बराबरको क्षति कम गर्छ” लाई कमजोर बनाउँछ । जुरिक बाढी उत्थानशील एलायन्स (गठबन्धन) मार्फत प्राक्टिकल एक्शनले यस भनाईमा आधारित भई कार्य गरिरहेको छ ।

 

यो भनाईले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका सबै पक्षहरूमा कार्य गर्न उत्पे्ररित गर्दछ, जसले समुदाय, स्थानीय सरकार, प्रदेश र राष्ट्रको नै उत्थानशीलता बृद्धि तर्फ उन्मुख गराउने र  निर्माण सम्बन्धी संहिता पालन मार्फत विकासका उपलब्धिहरू सबल भई सरकार र समुदायको  आघात सहन सक्ने क्षमता अभिबृद्धि गर्छ । मानवीय तथा सम्पत्तिमा हुने क्षति कम गर्न विभिन्न उपायहरू मार्फत कार्यात्मक विविधता विकास गर्नु आवश्यक छ । उदाहरणको लागि, समुदायमा सुरक्षित स्थानमा जाने धेरै बाटोहरू हुनसक्छन्, यसले संकटको अवस्थामा स्रोत परिचालनमा सहज बनाउँछ र नोक्सान कम गर्न तथा वित्तिय पहुँच मार्फत समयमा पुनर्लाभका कार्य गर्न सहयोग पुग्नेछ । 

जुरिक बाढी उत्थानशील एलायन्स (गठबन्धन) का नेपाल स्थित साझेदारहरू प्राक्टिकल एक्शन, आई.एफ.आर.सी. र मर्सिकोरले संघीय संरचनाका विभिन्न तह र समुदायहरूमा विपद् जोखिम व्यवस्थापनका सम्पूर्ण चरणहरूमा केन्द्रित पाँच सम्पत्तिहरू र उत्थानशीलताका चार आधारशीला कार्यढाँचा अवलम्बन गरी कार्य गरिरहेको छ ।

मनसुनको आगमनसँगै विपद् पूर्वतयारीका कार्य गर्ने समय हो । जस्तैः जोखिमयुक्त सूचना आदानप्रदानको लागि सञ्चार प्रणाली अद्यावधिक गर्ने, बाढी पूर्व सूचनाका सबै अङ्गहरू (अवयवहरू) सञ्चालनमा ल्याउने र आवश्यकता अनुसार मर्मतसम्भार गर्ने, विपद् पूर्वतयारी योजना अद्यावधिक गर्ने र त्यस्तै अन्य तयारीहरू । पूर्वतयारी, प्रतिकार्य र पुनर्लाभ बाहेक वर्षैभरी विकास निर्माणका कार्यहरूमा केन्द्रित भई नयाँ वा सम्भावित जोखिम कम गर्न बाढी जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कार्य गर्ने अवसरहरू हुन्छन् । नदी किनारमा सडक निर्माण गर्दा मानिसलाई बाढी आउने समथर वा होचा स्थानमा आकर्षित गर्छ । तसर्थ, यदि हामीले अग्लो स्थानमा पर्ने गरी सडक निर्माण गरेमा बाढी आउने समथर स्थान जुन जोखिमयुक्त हुन्छ, त्यस ठाउँमा मानिसहरूको आकर्षण हुँदैन । एकीकृत रुपमा जलस्रोत व्यवस्थापन गरिएको धेरै उदाहरणहरू  छन् । जस्तैः कटान भएका ठाउँहरूमा झारपात र बुट्यानहरू लगाएर स्थिर भएका छन् । प्राकतिक रुपमा गल्लीहरूमा बार खडा गरेमा जमिनमा बग्ने पानीको गति कम भई सानो खोलानालाबाट बचेका छन् । खाल्डाहरूमा सडक वा बाटो छेउका नालीको पानी पठाउँदा र परम्परागत पोखरीहरू पुनः प्रयोग गरी पानी सङ्कलन वा पुनर्भरण गर्दा पानीका स्रोत सुक्न कम भई पहाड र हिमालमा जीविका सहज भएका छन् । 

आधारभूत रुपमा, सङ्कटासन्न अवस्थामा रहेका सम्पत्तिहरूको जोखिम कम गर्ने तथा जीविकोपार्जनका पाँच सम्पत्तिहरू मानवीय, सामाजिक, भौतिक, प्राकृतिक र वित्तिय अवस्था सुधारका कार्य नै उत्थानशीलता बृद्धि गर्ने महत्वपूर्ण पाईला हुन्, जसले वर्षेनी भईरहेको क्षति, नोक्सानी कम गर्छ । 

जलवायुजन्य विपद् व्यवस्थापनका लागि संस्थागत संरचना र औजारहरू अत्यन्तै महत्वपूर्ण सबलीकरणका आधार हुन् । नेपाल सरकार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र जलवायु अनुकूलनका क्षेत्रमा सक्रिय रुपमा कार्यरत छ । सरकारले रणनीति, ऐन, नीति, योजनाहरू तयार गरेको छ । यसले एकीकृत विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागी सबल वातावरण सिर्जना गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सक्रिय भई कार्य सुरु गर्नु नै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को महत्वपूर्ण उपलब्धि हो । कार्यकारी प्रमुखको नियुक्ति हुनु र प्राधिकरणले समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण  र विपद् जोखिम न्यूनीकरणको लागि राष्ट्रिय साझास्थल (प्लेटफर्म) मार्फत गैरसरकारी संघसंस्था, निकायहरूसँग समन्वयात्मक भूमिका निर्वाह गरिरहेको छ । नेपाल सरकारले विपद् जोखिम न्यूनीकरण राष्ट्रिय नीति, २०७५ र विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्ययोजना (२०१८–२०३०, सन्) स्वीकृत गरेको छ । 

नेपालको संविधान, २०७२ मा आधारित रही तयार गरिएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ ले यस सम्बन्धी कार्यहरूलाई पुनःसमायोजन र पुनर्विचार गर्ने अवसर दिएको छ र संघीय संरचनाको तीनै तहका सरकारलाई कार्य गर्ने जिम्मेवारी प्रदान गरेको छ । र विपद् जोखिम व्यवस्थापनका कार्यहरू गर्न र कार्यक्रम सञ्चालन गर्ने साझा दायित्व तीनै तहका सरकारमा हुन्छ । विपद् व्यवस्थापन स्थानीय सरकारको एक प्रमुख कार्य हो । साथै, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तीनै तह (संघ, प्रदेश र स्थानीय) का सरकारलाई समान किसिमको अधिकार प्रदान गरेको छ । 

बाढी, पहिरो र जलवायुजन्य अन्य प्रकोपहरूले फरक फरक तहका सरकार र समुदायलाई विभिन्न किसिमले प्रभावित गर्दछ । जस्तैः तिनीहरूको प्रभाव र जोखिमको मात्रा फरक हुनसक्छ । राष्ट्रिय रुपमा रणनीति, कार्ययोजना, नीति, ऐन, विशिष्ट कार्यालय (जस्तैः विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण) स्थापना र काम गर्ने अनुकूल वातावरण बनिसकेको छ । अब, यो अनुकूल वातावरणमा विद्यमान संरचनाले प्रभावकारी उपाय, विधि, स्रोत उपयोग गरी वर्षैभरी नेतृत्वदायी र व्यवस्थित तरिकाले विपद् व्यवस्थापन सहित विकासका गतिविधि गर्नु आवश्यक छ । लगानी गर्दा सम्भाव्य अवस्थालाई मध्यनजर गरी जोखिम न्यूनीकरण, वर्तमानलाई ख्याल गर्दै सुधारात्मक तरिकाले जोखिम न्यूनीकरण र पूर्वतयारीका कार्यहरू गरेमा विपद् पश्चात गर्नुपर्ने ठूलो लगानी जोगाउन सकिन्छ । 


प्रतिकृया

अघिल्लो कथापछिल्लो कथा

अन्य कथाहरु

प्रश्न सोध्नुहोस्