समुदायको वाढी उत्थानशीलतामा महिलाहरुको नेत्तृत्वदायी भूमिका- अन्तराष्ट्रिय महिला दिवस विशेष

सोमवार, मार्च 8, 2021

कृति श्रेष्ठ, प्राक्टिकल एक्शन

मार्च ८, २०२१

महिलाहरूले विश्वको कूल जनसंख्याको आधा जनसंख्या ओघटे तापनि शताब्दीऔँ पुरानो रूढिवादी पितृसत्ता र समाजमा जरो गाडेर बसेको भेदभाव पूर्ण परम्पराहरुले समाजमा महिलाहरूलाई, महिला भएकै कारणले, पुरुषहरूको तुलनामा आफ्ना हक अधिकार प्रयोग गर्न तथा विभिन्न अवसरहरूमा पहुँच बढाउन वाधा पुगेको देखिन्छ। आज विश्व समुदाय  कोभिड महामारीको समयमा अन्तराष्ट्रिय महिला दिवस मनाउन तत्पर भएको छ।  यो महामारीले  लैङ्गिक विवेधहरूलाई थप के कस्तो असर गरेका छन् भनेर बुझ्न जरूरी छ। UN Women 2020 को प्रतिबेदन अनुसार कोभिड-१९ महामारीको कारणले बिगत एक दशकमा लैङ्गिक समानताको क्षेत्रमा भएका सीमित लाभहरू पनि पछाडी धकेलिएको देखिन्छ। यो महामारीले पहिले देखि चली आएको असमानतालाई बढाई सामाजिक, राजनैतिक तथा आर्थिक प्रणालीमा रहेको संकटासन्नटालाई अझै प्रगाढ पार्दै आर्थिक संकट, स्वास्थ्यक्षेत्रमा पहुँचको कमी, घरेलु हेरचाहको जिम्मेवारीमा वृद्धि, लैङ्गिक हिंसामा वृद्धि जस्ता अन्य असरहरु देखिएका  छन्। महामारीको  सकारात्मक असरहरु हेर्दा यस महामारीले विभिन्न क्षेत्र, समुदाय र घरधूरी भित्रै पनि महामारी र यसका विभिन्न असरहरू सँग जुध्न महिलाहरूले खेल्ने महत्वपूर्ण भूमिका तथा योगदानहरू लाई उजागर गरेको  छ।

प्राक्टिकल  एक्सनले सी. एस्. डी. आर्.को सहकार्यमा जुरिच बाढी उत्थानशिलता परियोजना लागु गरिरहेका  कैलाली र बर्दिया जिल्लाका समुदायहरूमा  ४९% महिलाहरू रहेका छन्। यी महिलाहरूले आफ्ना समुदायहरूमा विपद पूर्व तयारी, प्रतिकार्य तथा पुनर्लाभ एवं समुदायको तथा आ- आफ्ना घरधूरीका बाढी सम्बन्धि उत्थानशिलता वृद्धिमा अतुलनीय योगदान पुर्याएका छन्। जुरिच बाढी उत्थानशिलता गठबन्धले यी महिलाहरूको भूमिका तथा योगदानहरूको कदर गर्दै  यी महिलाहरुका साहशिला कथा र विचारहरू यहाँ प्रकाशित गर्ने जमर्को गरेको छ।

 

 

१.करुणा चौधरी, अध्यक्ष- सामुदायिक विपद व्यवस्थापन समिति, चक्खापूर

चक्खापूरकी करुणा चौधरी वि.सं. २०७० साल देखि आफ्नो सामुदायिक विपद व्यवस्थापन समिति (सा.वि.व्य.स) को अध्यक्षको रूपमा कार्यरत छिन। त्यो बेला उहाँको गाउँ- समुदायमा जिम्मेवारी वहन गर्ने पुरूषहरू नभएकाले नै उहाँ अध्यक्षमा छानिनु भएको थियो। उहाँले आफ्नो काम सुरु गर्नुहुदाँ, बाढी आयो भन्दै साइरन बजाउदा समुदायको ठूला बडा, मुख्यतय पुरुष सदस्यहरूले हास्ने गरेको सम्झनु हुन्छ। समुदायमा यी पूर्व- सूचना र पूर्व- तयारी काम लाग्दै गए पछि समुदायका मानिसहरूको धारणा बिस्तारै सकारात्मक हुँदै गएको उहाँ बताउनु हुन्छ।

“हामी अझै पनि नगरपालिका वा सरकारी कार्यालयहरू जाँदा, महिला भएकै कारणले, बिभिन्न किसिमको भेदभाव भोग्ने गर्दछौँ। । पहिला भन्दा धेरै सुधार भए पनि आर्थिक लेनदेनको कुरा हुँदा निकायका विज्ञहरूले अझै पनि समुदायका पुरुषहरूलाई लिएर आउन सल्लाह दिन्छन्। त्यसैले अझै पनि मानिसहरूको सोचाई तथा व्यवहारमा  धेरै परिवर्तन गर्नु पर्ने देखिन्छ” उहाँ बताउनु हुन्छ।

कोभिड-१९ को लकडाउन बेला उहाँलाई निकै गार्हो  भएको थियो।  एक त महामारीको अन्योल, त्यसमाथी घरको  आर्थिक अवस्था नाजुक हुँदै गएको थियो भने बेलाबखत आफ्नो घरमा सानो बच्चा बिरामी भईरहन्थ्यो। यती हुँदा हुँदै पनि उहाँले आफ्नो समुदायमा कोभिड-१९ को साथसाथै मनसुन बेला बाढी सम्बन्धी मिश्रित जोखिमको बारेमा जनचेतना जगाउन निरन्तर काम गर्नु भयो। उहाँले सक्रियरूपमा सुरक्षित हात धुने तथा सरसफाइ सम्बन्धी अभियान पनि सञ्चालन गर्नु भयो।

 

२.अन्जु चौधरी, सामाजिक परिचालक- सी. एस्. डी. आर्.

३२ बर्षकी अन्जु चौधरी सामाजिक विकास अनुसन्धान केन्द्र (सी. एस्. डी. आर्.) मा जुरिच बाढी उत्थानशिलता परियोजनाको सामाजिक परिचालकको रूपमा कार्यरत छिन। उहाँले परियोजनाको पहिलो चरण देखि निरन्तर कार्य गरि रहेकी छिन। यो भन्दा अगाडी उहाँ वनगाउँ सामुदायिक विपद व्यवस्थापन समितिमा सचिवको भूमिकामा कार्यरत थिइन्। यसरि आफ्नो समुदायको बाढी उत्थानशिलता बढाउन काम गर्दै गर्दा उहाँले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कार्यक्रमहरू नजिक बाट नियाल्ने मौका पाइन् र यसै क्षेत्रमा पेशागत रूपमा लाग्ने  प्रेरणा पाइन्।

सी. एस्. डी. आर्. बाट बिगतका ७ वर्षमा उनले वनगाउँ, वनजरिया, गौरीवतनपूर, अर्नवा, रामडाँडा, फाँटा र धनसिङ्गपुर् समुदायका ३५० भन्दा बढी घर-धूरीलाई बाढी उत्थानशिल बनाउनमा ठुलो भूमिका खेलेकी छिन। चाहे यी समुदायहरूलाई बाढीको पूर्वतयारी गराउनलाई कृत्रिम बाढी घटना अभ्यासको माध्यमबाट होस् वा समुदायका जीविकोपार्जन सुढृढ गर्न विभिन्न किसिमको जीविकोपार्जन तालिम दिने होस्उ, हाँ निरन्तर यो क्षेत्रमा लागि परेकी छिन।  उहाँ अग्रसरता आफ्नो समुदायहरूमा तिनवटा सुरक्षित भवनहरूको निर्माण भइसकेको छ। उहाँले विभिन्न समयमा समुदायको लागि बाढी उत्थानशिलता मापन (FRMC) अनुसन्धानमा सोधकर्ताको रूपमा ३ पटक योगदान पुराईसकेकी छिन। 

 

हाल उहाँको तीन वर्षे छोरा छ। पहिले छोरो सानो हुँदा आफ्नो जिम्मेवारीहरू पुरा गर्न स्कुटरमा राखेर समुदायमा छलफल गरेको अझै सम्झनु हुन्छ। “धन्न मेरी सासू आमा सहयोगी हुनुहुन्छ र समुदायमा दिनभरि बाहिर रहँदा बाबु बोकेर म सँगसँगै स्कुटरमा जता पनि आइदिनु हुन्थ्यो। अहिले सम्झिदा त्यो बेलामा त दुख  गरेँ, अब जे परेपनी पनि गर्न सक्छु  भन्ने आत्मविश्वास जागेको छ।”, उहाँ बताउनु हुन्छ।

कोभिड-१९को बेला उहाँले आफ्नो कार्यक्षेत्रमा रहेको समुदायहरूमा सरसफाई र हात धुने सम्बन्धी थुप्रै अभियानहरू सञ्चालन गर्नु भयो। सा.वि.व्य.स. हरूको सहकार्यमा उहाँले सी. एस्. डी. आर्.को तर्फबाट सुरक्षित हात धुने सम्बन्धी पम्फ्लेटहरू वितरण गर्ने तथा सचेतना जगाउने काम गर्नु भएको थियो।

कुनै पनि रूपान्तरण सहभागिताबाट सुरु हुन्छ भन्ने कुरामा उहाँ विश्वस्त छिन। उहाँ आफै पनि सा.वि.व्य.स.को सचिव भएपछि यो क्षेत्रमा पेशागत रूपमा लागेकी हुन। ” मैले काम सुरु गर्दा समुदायका महिलाहरू छलफलमा बस्न समेत हिच्किचाउँथे। विस्तारै छलफलमा सहभागी हुँदै गएपछि विपदका मुद्दाहरू बुझ्न थाले र आफ्ना धारणाहरू राख्न थालेका छन। अहिले उहाँहरूको आत्मविश्वास बढेर आफ्नो समुदायको सा.वि.व्य.स तथा यसका कार्यदलहरूको नेतृत्व गरेर आफ्नो समुदायको बाढी उत्थानशिलतामा योगदान पुर्याईरहेका छन्।”, उहाँ बताउनु हुन्छ।

 

३.निर्मला चौधरी, विपद जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन सम्पर्क व्यक्ति, टिकापुर नगरपालिका

निर्मला चौधरी, ३५, ले टिकापुर नगरपालिकाको विपद जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन सम्बन्धी काम तथा कारबाहीको जिम्मेवारी पाउनु भएको छ। २०६४ सालमा खरिदारको तहबाट काम सुरु  गर्नु भएको चौधरीलाई पहिले त यो विषय निकै प्राविधिक र जटिल लागेको थियो। तर  प्राक्टिकल  एक्सनको सहयोग मा सी.एस.डी.आर्. ले सञ्चालन गरेका बिभिन्न  विषयगत तालिम तथा अभिमुखीकरण कार्यक्रमहरु पश्चात उहाँलाई यसबारेमा थप जानकारी प्राप्त भयो र आफ्नो काम कारबाही पुरा गर्न सहज भयो। हाल उहाँको जिम्मेवारीमा स्थानीय आपत्कालिन सञ्चालन केन्द्रको व्यवस्थापनको साथसाथै नगरपालिकामा विपद अगाडिका र विपद पछाडिका कार्यक्रमहरू निर्मान तथा सन्चालन गर्ने रहेका छन।

 

उहाँले विपद अगाडी गर्नुपर्ने पुर्व- तयारीका कार्यक्रमहरूलाई विशेष जोड दिनु हुन्छ। नगरपालिका भित्र उहाँको अग्रसरतामा दुई वटा सुरक्षित भवनहरू निर्माण भइसकेका छन। महिला तथा बालिका समावेशी विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि अझै धेरै काम गर्नु पर्ने उहाँको धारणा छ। “अझै पनिधेरै समुदायहरुमा महिला तथा बालिकाहरूलाई बाढी पश्चात सुरक्षित भवनमा बस्न जाँदा छुट्टै शौचालयको व्यवस्था हुन बाँकि छ जसले गर्दा महिलाहरू बाढीको बेला समेत सुरक्षित भवनमा जान हिचकिचाउँछन। हामीले योजना तर्जुमा र कार्यान्वयन गर्दा यस्ता साना कुरामा ध्यान पुर्याउनु पर्दछ र मात्र समावेशी बन्न सकिन्छ।”, उहाँ बताउनु हुन्छ।

महिलाहरू नेतृत्वदायी भूमिकामा पुगेपछि सबै वर्ग, जाति तथा लिग लाई फाइदा हुने खालको समावेशी नीति तथा कार्यक्रम बन्ने गरेको उहाँ बताउनु हुन्छ। “म लगायतका नगरपालिकामा कार्यरत अन्य महिलाहरूलाई देखेर समुदायका महिलाहरू खुशी हुने र आफ्नो गुनासोहरू पोख्न सहज महसुस गर्छन । साथसाथै उहाँहरूलाई सक्रिय रूपमा अगाढी बढ्न, आफ्नो दायरा फराकिलो पार्न प्रेरणा प्रदान हुन्छ।” उहाँले भन्नुभयो।

“महामारीको बेला महिलाहरूले आफ्नो परिवार र समुदाय कोभिड-१९ बाट जोगाउन निकै महत्वपुर्ण भूमिका खेलेका छन। नगरपालिकाले हालसालै कोभिड-१९ मा विशेष योगदान पुराउने हुने व्यक्तिहरूको सम्मान कार्यक्रम आयोजना गरेको थियो जसमा धेरै महिलाहरू नै थिए” उहाँले थप्नु भयो।

 

 

प्रतिकृया दिनुहोस

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ


प्रतिकृया