समुदाय स्तरीय विपद् व्यवस्थापन समिति बनगाउँ, टिकापुर कैलाली

सोमवार, अप्रील 1, 2019

बन्गाउँ समुदाय कैलाली जिल्लाको टिकापुर नगरपालिकाअन्तर्गत वडा नं ८ मा रहेको समुदाय हो । यस गाउँ बाढीको समयमा तीन तिरको (पूर्व, पश्चिम र उत्तर) बाढीबाट घेरीने गर्दछ । केही समय पहिला ७२ घरधुरी रहेको गाउँमा बाढीको कारण त्यहाँबाट विस्थापित हुदै गएर २०७१ सालमा ५१ घरधुरीमा सीमित भएकोमा, हाल ५६ घरधुरी ३५७ जनसंख्या पुगेको छ र समुदायका केही विस्थापितहरू फर्किने क्रम जारी छ । यसको प्रमुख कारण विगत् केहि वर्ष यता त्यहाँको समुदायले बाढीसँग जुध्न विकास गर्दै गरेको उत्थानशीलता र त्यसको परिणामस्वरुप बाढीको जोखिममा आएको कमी नै प्रमुख कारण हो ।

  

समुदायस्तरीय विपद् व्यवस्थापन समिति छलफल

 यस गाउँमा नेपाल बाढी उत्थानशील परियोजनाको प्रवेश पछाडी परियोजना कै सहजीकरणमार्फत गाउँमा विपद् जोखिम न्यूनीकरणमा काम गर्नको लागि एक समितिको आवश्यकता महशुस गरि २०७१ भदौ ९ गतेका दिन सबै गाउँलेहरूको उपस्थितिमा विधिवतरुपमा समुदायस्तरीय विपद् व्यवस्थापन समिति गठन भएको हो, जसलाई स्थानीय निकायको वडा कार्यालयले सूचीकृत गरेको छ । तत्पश्चात् परियोजनाको सहयोग तथा आफ्नै सक्रियतामा उक्त विपद् व्यवस्थापन समितिले विभिन्न जोखिम न्यूनीकरणका साथै चेतना अभिवृद्धि र सरोकारवालासँग छलफलको क्रियाकलाप गर्दै आइरहेको छ, साथै पालिकास्तरको विषयगत कार्यालयहरूसँग पनि आफ्नो पहुँचलाई बढाउँदै लगेको छ ।

 

नगरपालिकास्तरिय सरोकारवलासंग छलफल र अन्तरक्रिया

यस गाउँस्थित विपद् व्यवस्थापन समितिलाई विभिन्न चरणमा गरिएको अनुशिक्षण तथा तालिमका आधारमा उनीहरूमा सरोकारवालासँगको सम्बन्ध र पहुँच बढाउन जरुरी छ भन्ने चेतनाको अभिवृद्धि भएको छ। जसले गर्दा विपद् व्यवस्थापन समितिको पहलमा (डेलिगेशन, छलफल) वडा कार्यालयले समुदायको मागबमोजिम गाउँको बाटोलाई बाटो पटानी र ग्राभेल गरि बाढीको समयमा सहज सुरक्षित मार्ग बनाउन सफल भएका छन् । कृषि शाखा कार्यालयसँगको नियमित छलफल तथा अन्तरकृया पश्चात् आलु खेती, खुर्सानी खेती, काउली खेती व्यवसायकालागि बिउबिजन तालिमको व्यवस्था गरि जीविकोपार्जनमा सहयोग गरेको छ ।

जीविकोपार्जन गतिविधिहरु

जीविकोपार्जनका गतिविधि

आफ्नो समुदायको नजिक रहेको सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समितिको सदस्यसमेत बन्न सफल यो विपद् व्यवस्थापन समितिले भविष्यमा कर्णाली नदीको किनारमा तारजालीको लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूसँग समन्वय गरि व्यवस्थित तटबन्धन निर्माण गर्ने योजना रहेको बताउँछ । थोरै जमीनमा पनि धेरै उत्पादन लिन सकिने रहेछ भन्नेकुरा कृषक पाठशालाबाट सिकिसकेको हुँदा तरकारी खेतीलाई व्यावसायीकरण गर्ने र जीविकोपार्जनको आधारमा सुधार गर्ने योजना बनाएको छ । त्यसैगरि गाउँको वरपर विभिन्न जातका बिरुवा लगाउने र त्यसमा तारबार लगाई जंगली जनावरको आक्रमणलाई रोकथाम गर्ने योजना समेत बनाएको छ ।

बनगाउँ सेफ शेल्टर

बाढीको जोखिम घटाउन अब घर बनाउँदा उच्च घर निर्माण र पानी सहजै घर भित्र पस्न सक्ने अवस्थालाई पनि रोकथाम गर्ने र अरु उच्च खानेपानीका धाराहरूको व्यवस्थाका लागि अन्य सहयोग गर्न सक्ने सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गर्ने र अझ बेरोजगार युवा युवतीहरूका लागि सिपमूलक तालिमको व्यवस्था गर्ने योजना समेत रहेको यस समितिका सदस्यहरूको भनाइ छ ।

प्रतिकृया दिनुहोस

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ


प्रतिकृया