समृद्धिको लर्को सामुदायिक च्याउ खेतीमार्फत उत्थानशीलता

बिहिवार, मे 21, 2020

प्रत्येक वर्ष वर्षाको समयमा सुदूरपश्चिम नेपालको कैलाली जिल्लाको सानो गाउँ नुक्लीपुरका दर्जनौँ परिवारहरू बाढीले विस्थापित हुन्छन् । स्थानीय प्रशासनबाट उद्धार र राहत सामग्रीहरू प्रदान गर्ने उदासीनताले उनीहरूको दुःख र पीडा मात्र बढाउँदछ । यस्तो परिवेशमा सरकारको आश्वासनबाट थकित स्थानीयहरूले बाढीको प्रभावको सामना गर्न आफैँले केही गर्ने निर्णय गरे ।

 

चार वर्षअघि नुक्लीपुरका बासिन्दाहरूले बर्सेनि आउने बाढीको विनाशकारी प्रभावलाई कम गर्न एउटा सक्रिय उपायका रूपमा प्राक्टिकल एक्शनको प्राविधिक सहयोगमा सामूदायिक विपद व्यवस्थापन समिति गठन गरे । गाउँलेहरूलाई आपत्कालीन समयमा खाना, राहत सामग्री र अन्य आवश्यक वस्तुहरू खरिद गर्नका लागि विपद् राहत कोषको आवश्यकता प¥यो । यसका लागि गाउँलेहरू आफैँले पैसा उठाउनु आवश्यक थियो । यद्यपि धेरैजसो गाउँलेहरू निकै गरिव भएकाले यो कोषका लागि सानो रकम समेत योगदान गर्न कठीन थियो ।

यसको समाधान खोज्ने क्रममा उनीहरूलाई सामुदायीक च्याउ खेतीबाट पैसा सङ्कलन गर्ने सुझावका साथै बाढी उत्थानशील कार्यक्रमले गाउँलेहरूलाई च्याउको बीउ, प्लास्टिकका झोला र उद्यम प्रारम्भ गर्न आवश्यक पर्ने प्राविधिक सहयोग पनि प्रदान ग¥यो । कामले तीब्रता लिए पछि आशा गरेभन्दा राम्रो परिणाम दियो । चार वर्षपछि गाउँलेहरूले रु. ८०,००० भन्दा बढीको च्याउ बिक्री गरेका छन् र दोस्रो पटक टिप्दा यो भन्दा बढी रकम कमाइ हुने आशा राखेका छन् । यसको फलस्वरूप विपद् राहत अभियानका लागि रकम जुटाउने उद्देश्यका साथ सुरु गरिएको यो खेती उद्देश्य प्राप्त गर्न मात्र सफल नभई स्थानीय मानिसहरूलाई अरू कुरामा समेत लाभान्वित गराउन सफल भएको छ । प्रकोप राहत अभियानका लागि रकम जुटाउन सहयोग गर्नुको अलावा च्याउ खेतीबाट प्राप्त आम्दानी गरिव गाउँलेहरूका लागि बैङ्कजस्तै भएको छ ।

सबै सीडीएमसी सदस्यहरूले आवश्यक परेका बेला मल खरिद गर्न, स्कूलको मासिक शुल्क तिर्न वा अन्य आपत्कालीन परिस्थितिमा कोषबाट बिनाधितो न्यूनतम ब्याजदरमा ऋण निकाल्न सक्दछन् । यसका लागि उनीहरूले सीडीएमसीमा निवेदन दिनुपर्छ । पहिले साठी प्रतिशतभन्दा बढी ब्याजदरमा ऋण लिन बाध्य नुक्लीपुरका बासिन्दाहरूका लागि यो कोष ठूलो राहतको रूपमा आएको छ । वित्तीय संस्था र स्थानीय साहूमहाजनसँग चर्को ब्याजदरमा लिइएको ऋण तिर्न नसकेर धेरै गरिव गाउँलेहरूले घर, जग्गा र खेतबारी गुमाएका छन् । सीडीएमसीले न्यून ब्याजदरमा बिनाधितो ऋण उपलब्ध गराउँदा गाउँलेहरू त्यस्ता शोषणबाट जोगिन सफल भएका छन् ।

“पहिले आपत् पर्दा हामी साहूमहाजनको ढोका ढक्ढक्याउन जान्थ्यौँ र उनीहरूले दिएको ऋणको धेरै ब्याज तिर्नुपथ्र्याे तर अहिले त्यस्तो छैन” सीडीएमसीका अध्यक्ष श्यामकली थारुले उल्लेख गरिन् ।

श्यामकलीका अनुसार गाउँलेहरू खासगरी आपत्कालीन परिस्थितिमा ऋण लिन्छन् जसरी उनले पनि केही महिनाअघि उपचारका लागि लिएकी थिइन् । उपचारका लागि नेपालगञ्ज लैजान उनको परिवारसँग दुई हजार रूपैयाँ नभएकै कारण महिनौँसम्म श्यामकलीले पेटको गम्भीर पीडा भोग्नुप¥यो । तर सीडीएमसीको ऋण सुविधा सुरु हुने बित्तिकै उनले आफूलाई आवश्यक रकम ऋण लिई नेपालगञ्ज गएर डाक्टरलाई भेट्न सकिन् ।

“यदि म उपचारका लागि नगएकी भए स्थिति अझै जटिल हुन सक्थ्यो । च्याउ खेती मेरो लागि उद्धारकर्ता नै भयो” श्यामकली भन्छिन् जसले चौबीस प्रतिशत ब्याजदरमा लिएको ऋण तिरिसकेकी छिन् । यदि उनले स्थानीय साहूमहाजनबाट यो ऋण लिएकी भए सीडीएमसीको भन्दा तीन गुणा बढी ब्याज बुझाउनु पर्ने हुनसक्थ्यो ।

सीडीएमसीकी अर्की सदस्य मानकुमारी चौधरीले पनि आफ्ना छोराछोरीको मासिक शुल्क तिर्न ऋण लिएकी छिन् ।

“मलाई तुरुन्तै पैसा चाहिएको थियो तर कहाँबाट ल्याउने थाहा थिएन । म बिस्तारै किस्तामा ऋण फिर्ता गर्दैछु” उनले भनिन् जसको घरखर्च उनका सवारी चालक श्रीमानको कमाइले चल्दछ ।

सीडीएमसीका सदस्यका अनुसार करिब रु. ८०,००० ऋणका लागि प्रयोग भइरहेको छ । ऋण सीडीएमसी सदस्यहरूलाई मात्र दिइने र ऋण दिइने रकम न्यून भएकाले समितिले हालसम्म समस्या व्यहोर्नु परेको छैन । यसबाहेक सीडीएमसीले ब्याजबाट मात्रै रु. १०,००० बराबरको आम्दानी गरिसकेको छ ।

च्याउ खेतीका कारण नुक्लीपुरको प्रतिष्ठा बढ्दै गएको छ । यहाँ भएको सामुदायिक च्याउ खेतीको सफल प्रयोगले अन्य धेरै गाउँलेहरूलाई यो मोडेलको सिको गर्न प्रोत्साहन गरेको छ । बाढीको जोखिम भएका अन्य क्षेत्रबाट पनि बढीभन्दा बढी सीडीएमसीहरू सामुदायिक च्याउ खेती व्यवसाय सुरु गर्ने प्रस्तावका साथ अग्रपर भैरहेका छन् । फस्टाएको च्याउ खेती बाढी उत्थानशील कार्यक्रमका धेरै गतिविधिहरूमध्ये एक हो । किसानहरूलाई तालिम प्रदान गर्न कृषक पाठशालाहरू पनि सन्चालनमा छ जसले उनीहरूलाई मौसमी र बेमौसमी तरकारी खेती गर्न प्रोत्साहन गर्दछ ।

नेपालका पश्चिम र सुदूरपश्चिमका अधिकांश बस्तीहरूमा विपन्न वर्गका मानिसहरूको बसोबास रहेको छ । उनीहरू शिक्षा र महत्वपूर्ण पूर्वाधारजस्ता आधारभूत आवश्यकताहरूबाट वञ्चित हुनुका साथै कर्णाली र बबई नदीको निकटताका कारण अक्सर बाढीको प्रकोपबाट समेत नराम्ररी प्रभावित हुन्छन् । सीपमा आधारित तालिम र समयमै दिइने सेवाले गाउँलेहरूको जीवनमा सुधार ल्याउनुका साथै उनीहरूमध्ये धेरैलाई गरिवीको रेखाभन्दा माथि उकास्न र विपद् जोखिम न्यूनीकरण गर्न सहयोग पुग्नेमा दुईमत छैन । वर्सेनि वर्षाको बाढीले निम्त्याउने विनाशले गर्दा जोखिम क्षेत्रका बासिन्दाहरू जोखिम न्यूनीकरणका लागि निजी र सार्वजनिक दुवै क्षेत्रबाट प्रभावकारी प्रयासहरू गरिदिन आग्रह गरिरहेका छन् । उनीहरू केही हदसम्म आपत्कालीन परिस्थितिलाई सम्बोधन गर्न र परिस्थितिमा सुधार गर्न एवम् प्रकोपबाट हुने नीकरण गर्न सक्ने भएका छन् तर वर्तमान कार्यशैलीलाई निरन्तरता दिन र भविष्यमा आउने विपद्ले निम्त्याउन सक्ने समस्याको उत्तम समाधानको विकास गर्न उनीहरूलाई अझै सहयोगको खाँचो छ ।

 

 

प्रतिकृया दिनुहोस

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ


प्रतिकृया