साना सिर्जना: सुरक्षित अन्न भण्डार, बाढी पछि सहायक

बिहिवार, मे 21, 2020

मनिराम थारू, २३, प्रत्येक वर्ष वर्षाको समयमा बाढीले निम्त्याउने विनाश खप्न बाध्य हुन्छन् । बर्दिया जिल्लामा अवस्थित उनको गाउँ मधुवनी र वरपरका बस्तीहरू पनि वर्षाका कारण हुने प्रकोपको चपेटामा छन् । बाढी उत्थानशील परियोजनाको सहयोगबाट मनिरामले पनि अन्न भण्डार धर निर्माण गरे । कार्यक्रमले तोकेझैँ सामान्य चार फिट अग्लो भण्डार निर्माण गर्नुभन्दा ठूलो बाढीको जोखिमबाट समेत बचाउन सक्ने खालको भण्डार घर निर्माण गर्नु आवश्यक रहेको मनिरामले ठाने ।

वर्षाको भयावह प्रकोपहरूसँग राम्ररी परिचित मनिराम, बाढी आउँदा अन्न र अन्य बहुमूल्य बस्तुहरू भण्डारण गर्न प्रयोग गर्न सकिने भण्डार घर निर्माणको प्रस्तावका आधारमा मनिरामको चार कोठाको घरभन्दा दुई गुना अग्लो, बाह्र फिट उचाइ भएको बहुउद्देश्यीय भण्डार घर निर्माण भयो । निर्माणमा लागेको थप खर्च मनिराम आफैले व्यहोरे । फलस्वरूप मनिराम र उनको परिवारलाई यस भण्डार घरको निर्माणले बाढीको डरबाट मुक्त गरिदिएको छ ।

 

गत वर्ष मात्र मधुवनी गाउ‘ले ठूलो बाढीको असर खेप्न परेको थियो । बिहान २ बजेतिर गाउँमा पसेको बाढीले ठूलो विपत्ति निम्त्याएको थियो भने आफ्नो ज्यानको सुरक्षाका लागि धेरैलाई भाग्न बाध्य तुल्यायो । बाढीले खाद्यान्न, बालीनाली, गाईवस्तु, पैसा र अन्य बहुमूल्य चीजहरू समेत बगायो । तर, मनिराम र उनका आफन्तहरूले नवनिर्मित भण्डार घरको प्रयोग गरी धान र अन्य आवश्यक चीजहरू जोगाउन सफल भए ।

 

“बाढी आउनुभन्दा धेरै अघि हामीले नयाँ भण्डार घरमा अन्नहरू भण्डार गर्न सुरु गरिसकेका थियौँ । गाउँमा बाढीको पानी पस्ने बित्तिकै हामीले अरू बहुमूल्य सामानहरू पनि भण्डार घरमा सा¥यौँ,” मनिरामले भने । 

 

“हाम्रो घर एकदिन भर डुबानमा परे पनि हामीले आफ्ना अधिकांश सामानहरू बचाउन सफल भयौँ ।”

 

मधुवनीका अधिकांश मानिसहरू खरले छाएको र माटोबाट निर्मित स–साना घरहरूमा बस्छन् । बाढीको जोखिम कम गर्न ठूलो सहयोग पु¥याउने चार फिट अग्लो भण्डार घरहरू यस क्षेत्रका लागि प्रभावकारी छन् । तथापि, बढी जोखिमयुक्त क्षेत्र बसोबास गर्ने व्यक्तिहरूसँग मनिरामको जस्तै भण्डार घर निर्माण गर्नु बाहेक अर्को विकल्प छैन । करिब साठी हजारको लागतमा बनेको मनिरामको अन्न भण्डार घर बर्दिया जिल्लाका अन्य गाउँलेहरूका लागि पनि नमूना बनेको छ । यो नमूना भण्डारको निर्माण हेर्न बर्दिया र छिमेकी जिल्ला कैलालीबाट धेरै मानिसहरू गर्नका लागि आउने गर्छन् ।

 

मधुवनीबाट करिब २० किलोमिटर टाढा पर्ने पत्थरभाउजीका कृष्णराम चौधरी पनि त्यस्तै भण्डार घर निर्माण गर्ने योजना बनाउँदैछन् । यसै सिलसिलामा मनिरामको जस्तो भण्डार घर निर्माणसम्बन्धी जानकारी लिन उनले दुई पटक मधुवनीको भ्रमण गरिसके ।

 

“म विश्वस्त छु, यदि हामीले हाम्रो अन्न बचाउने हो भने त्यस्तै भण्डार घर निर्माण गर्नुपर्छ । गत वर्ष बाढीले नौ फिट अग्ला संरचनाहरू समेत डुबायो । त्यसकारण चार फिट अग्लो भण्डार घर निर्माण गर्नु हाम्रो जस्तो बढि जोखिमयूक्त इलाकाका लागि सान्दर्भिक हुँदैन,” कृष्णरामले भने ।

 

 

भण्डार घर मूलतः निगालोको प्रयोग गरी बनाएर रातो माटो र गोबरले लिपिएको छ । पक्की पिलर र सिमेन्टको प्रयोग बाहेक परियोजनाले मानिसहरूलाई स्थानीय रूपमा उपलब्ध सामग्रीको उपयोग गरी भवन निर्माण गर्न प्रोत्साहित गरिरहेको छ । कर्णाली र बबई लगायतका ठूला नदीहरू भएका बर्दिया र कैलाली जिल्लाका अधिकांश भागमा बाढी ठूलै समस्या बनेको छ । सयौँ मानिसहरूले बाढीमा आफ्ना गाईबस्तु, अन्न र अन्य बहुमूल्य सामानहरू गुमाएका छन् जसले गर्दा तीमध्ये धेरै चरम गरिवीको चक्रमा धकेलिएका छन् । प्रत्येक वर्ष बाढीले प्रभावित समथर भू–भागका हजारौँ बासिन्दाहरूका लागि यस्ता अन्न भण्डार घरको सुविधाले प्रकोपको असर कम गर्न सहयोगी बन्न सक्छ । 

 

 

प्रतिकृया दिनुहोस

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ


प्रतिकृया