३० औं अन्तर्राष्ट्रिय १६ दिने लैंगिक हिंसा विरुद्ध अभियानमा नेपाल बाढी उत्थानशील परियोजनाको सहकार्य

बुधवार, डिसेम्बर 8, 2021

रमेश गौतम, प्राक्टिकल एक्शन
जनकराम चौधरी, सामाजिक बिकास तथा अनुसन्धान केन्द्र

५ डिसेम्बर २०२१

समाजमा महिला विरुद्ध र महिला भएकै कारणले हुने सम्पूर्ण हिंसात्मक कार्य महिलामाथि हुने हिंसा हुन् । सार्वजनिक वा निजी जीवनमा लिङ्गका आधारमा हुने हिंसाजन्य कार्य महिला विरुद्धको हिंसा हो, जसले महिलालाई शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पु¥याउँछ वा पुर्याउने सम्भावना हुन्छ । यसअन्तर्गत त्यस्तो कार्य गर्ने धम्की, दबाब र स्वेच्छाचारी रूपमा महिलाको स्वतन्त्रतामा बन्देज गर्ने कार्यसमेत पर्दछ । महिलामाथी हुने हिँसाहरु बिपद्जन्य घटनाको दौरान तथा बिपद्पस्चात हुने राहत, पुनर्स्थापना जस्ता क्रियाकलापहरुमा अझै वढी हुने गरेको विभिन्न अध्ययन हरुले देखाएका छन् ।

महिला बिरुद्दको हिँसा कम गर्ने अभिप्रायले लामो समयदेखि विश्वभर बिबिध कार्यक्रमहरु संचालन हुदै आएको छ । सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोवल लिडरशिप (CWGL) को सहयोगमा विभिन्न २३ देशका महिला अधिकारकर्मी समुहको अगुवाइमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात भएको थियो। सन् १९९९ मा संयुक्त राष्ट्रसंघले नोभेम्बर २५ को दिनलाई संसारभर नै महिला विरुद्धको हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा स्थापित गरेको थियो । त्यसपछि हरेक २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापी रुपमा मनाउँदै आएको पाईन्छ । यस वर्षको अन्तरास्ट्रिय नारा “Orange the World: End Violence against Women now” रहेको छ ।

समुदाय स्तरमा भए गरेका कार्यक्रमको एक झलक

प्राक्टिकल एक्शनले, जुरिच वाढी उत्थानशील परियोजना मार्फत गरिआएको कार्यक्रमहरुमा लैगिंक हिंसा सम्बोधनका लागि सक्रिय कदमहरु चाल्दै आएको छ। समुदायको वाढी उत्थानशीलता मापन कार्यढाँचा (Flood resilience Measurement for Communities (FRMC) framework) को अध्ययनले सामाजिक सम्पति अन्तर्गत पर्ने सूचक “सामुदायिक सुरक्षाको पाटो (Social Safety Aspect)”अन्तर्गत विभिन्न समुदाय यो सूचकमा कमजोर रहेको देखाएको छ । साथै विभिन्न रिपोर्टहरुले लैंगिक हिँसाहरु बिपद्जन्य घटनाको दौरान बढी हुने देखाएको पाइन्छ । परियोजना कार्यरत स्थानहरुमा बिपद्जन्य घटनाहरु प्रत्येक वर्ष भैरहने र समुदायमा त्यस्ता घटना हुदा हिँसाजन्य गतिविधिहरु बढ्न सक्ने हुदा त्यस्ता हिँसाहरुको न्यूनीकरण तथा समुदायमा यसको सचेतना फैलाउने अभिप्रायले यस वर्ष परियोजनाले क्रियाकलापमा सामुदायिक सुरक्षा तथा लैंगिक हिँसा न्यूनीकरण कार्यक्रम समावेश गरेको छ ।

पालिका स्तरमा भए गरेका कार्यक्रमको एक झलक

यस वर्ष नेपालले “घरैदेखि शुरु गरौं‚ महिला विरुद्धको हिंसा अन्त्य गरौं” भन्ने मूल नाराका साथ ३० औं अन्तर्राष्ट्रिय १६ दिने लैंगिक हिंसा विरुद्ध अभियान २०७८; संघ, प्रदेश तथा स्थानीय तहहरुमा बिबिध कार्यक्रम गरि संचालन गर्दैछ । यसै परिवेशमा प्राक्टिकल एक्शन र सामाजिक विकास तथा अनुसन्धान केन्द्र (CSDR) बाँकेको सहकार्यमा संचालित नेपाल बाढी उत्थानशील परियोजनाले स्थानीय गाउँ र नगरपालिकासँगको सहकार्यमा बिभिन्न सचेतनामुलक क्रियाकलापहरु जस्तै: पालिका स्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम, र्याली र पोस्टर, पम्प्लेट वितरण कार्यक्रम, सडक नाटक, वक्तृतवकला कार्यक्रम, सामुदायिक सुरक्षा तथा लैंगिक हिँसा न्यूनीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम आदि सन्चालन गरेको छ ।

वितरण गरिएका पम्प्लेट

सामुदायिक सुरक्षा तथा लैंगिक हिँसा न्यूनीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम अन्तर्गत, जुरिच वाढी उत्थानशील परियोजना संचालन हुदै आएका २५ वटै समुदायमा अभिमुखीकरण कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रमको सहजीकरण पालिका अन्तर्गत रहेका महिला बालबालिका शाखाका संयोजक तथा स्थानीय सुरक्षा प्रतिनिधिले गरेका थिए । कार्यक्रममा समुदायमा हुने गरेका बिभिन्न किसिमका हिंसाजन्य पाटोहरु: शारीरिक हिँसा, मानसिक हिँसा, सामाजिक हिँसा, आर्थिक हिँसा, धार्मिक हिँसा, यौन हिँसा, यौनजन्य शोषण तथा दुर्ब्यबहार जस्ता विषयवस्तुबारे छलफल भएको थियो। छलफलको दौरान, पालिका प्रतिनिधिहरुले नेपाल सरकार तथा स्थानीय सरकारहरुले लैंगिकता तथा सामाजिक समावेशीकरण, हिंसाजन्य घटनाहरुको न्यूनीकरण गर्न बनाएका संस्थागत संरचना तथा नीतिगत ब्यवस्था तथा कार्यक्रमबारे अवगत गराएका थिए । स्थानीय प्रहरीले समुदायको सुरक्षा तथा घरेलु हिँसा, लैंगिक हिँसा तथा समाजमा हुने विभिन्न अपराध गर्दा गर्नुपर्ने उजुरी प्रक्रिया, तथा बिधमान कानुन बमोजिम दण्ड तथा सजायका प्राबधान बारे छलफल भएको थियो। त्यसैगरी, प्राक्टिकल एक्शनको यौनजन्य उत्पीडन शोषण तथा दुराचारबाट सुरक्षा नीतिबारे पनि छलफल भएको थियो । यस कार्यक्रममा २१ वटा समुदायवाट ९०० जना सहभागी ( महिला ६७८ जना) को सहभागिता रहेको थियो ।

यी कार्यक्रमहरुका निमलिखित उपलब्धिहरु रहेका छन्:

  • समुदायको पालिका तथा स्थानीय प्रहरी कार्यालयसंग थप सम्बन्ध विस्तार भएको
  • सामाजिक सुरक्षाका सवाल तथा लैंगिक हिँसा सम्बन्धि सचेतना बढेको
  • लैंगिक हिँसा तथा अपराधसम्बन्धी बिधमान ऐन कानुनहरुको बारेमा सचेत भएको
  • लैंगिक हिँसा तथा अपराध भएमा कुन निकायमा गएर उजुरी गर्ने,तथा बिधमान कानुन बमोजिम दण्ड तथा सजायका प्राबधान बारे समुदाय सुसुचित भएका
  • हटलाइन तथा हेल्पलाइन सस्था एवं नम्बरहरूको बारेमा समुदाय जानकार भएको
  • प्राक्टिकल एक्शनको यौनजन्य उत्पीडन शोषण तथा दुराचारबाट सुरक्षा नीतिबारे जानकार भएको
  • घर तथा समाजमा हुने हिंसा अन्त्यका लागि सामुहिक ऐक्यबद्धता र शुन्य सहनशिलताको नीतिलाई अवलम्बन गर्न समुदाय, सामुदायिक संघसंस्था, स्थानीय सरकार तथा प्रहरी प्रशासनको अगुवाइमा आगामी दिनमा आम नागरिक सचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिवद्दता ।

नेपाल सरकारले लैंगिक हिंसाको सम्बोधनका लागि नीतिगत व्यवस्थाका साथै विभिन्न कार्यक्रम तय गरेको छ । नेपालको संविधानले लैंगिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ । समान नागरिक, समान सहभागिता, सामाजिक सुरक्षा, कानुनको पालना र आर्थिक समृद्धिलाई संविधानमा प्रमुख प्राथमिकताका साथ राखिएको छ । त्यसैगरी कसैले पनि महिला विरुद्द धार्मिक‚ सामाजिक‚ सास्कृतिक‚ परम्परा‚ प्रचलन वा अन्य कुनै आधारमा शारीरिक‚ मानसिक यौनजन्य‚ मनोबैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गर्न नपाउने, यस्तो कार्य गरे कानुन बमोजिम दण्डनीय हुनेछ र पिडितलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनि उल्लेख गरेको छ । त्यसै गरि श्रम कानुन २०७४, मुलुकी अपराध संहिता ऐन २०७४, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण ऐन २०१५, बिभिन्न समयमा सर्वोच्च अदालतको निर्णय र परमादेशहरु, महिला विरूद्धका सबै प्रकारको भेदभावहरू उन्मूलनसम्बन्धी महासन्धि (CEDAW) लगायतका अन्तर्राष्ट्रिय सन्धि सम्झौता जस्ता नीतिगत दस्तावेज मार्फत महिलाविरुद्ध हुने भेदभाव तथा हिंसाजस्ता अपराधलाई राज्यले कानुनद्वारा दण्डनीय बनाएको छ ।राष्ट्रिय मानव अधिकारको प्रतिवेदनले कोभिड १९ महामारी पश्चात महिलाहरुले थप घरेलु हिँसा तथा शोषण भोग्नु परेको देखाएको छ । बिभिन्न अध्ययनहरुको निचोडले प्रत्येक ३ जना मध्ये १ जना महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै रुपमा हिंसा भोग्ने गरेको देखाएका छन् । महिला विरुद्धको लैङ्गिक हिंसा जुनसुकै बेलामा हुनसक्ने र विशेषत विपद्को बेलामा र विपद् पश्चात वढ्र्ने देखिएकोले महिला विरुद्धको लैङ्गिक हिंसा कम गर्नको लागि चालिने कद्रमहरु छुट्टै कार्यक्रम रुपमा मात्र नभईकन सबै विषयगत क्षेत्र तथा कार्यक्रमहरुमा मूलप्रवाहीकरण गर्न जरुरी छ।

प्रतिकृया दिनुहोस

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ


प्रतिकृया