[कान्तिपूर ]मुसलधारे वर्षाले विपद्

अगस्ट 24, 2020

केही वर्षयता पहाडी र हिमाली क्षेत्र सम्मै थोरै ठाउँमा केन्द्रित भएर वर्षा हुने क्रम बढेको र त्यसलेबाढी पहिरोजन्य विपद् निम्त्याएको विज्ञहरुको विश्लेषण

भाद्र ८, २०७७

अब्दुल्लाह मियाँ

काठमाडौँ — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल अछामको सन्नीबजारको विपद् (पहिरो–बाढी) देखेर छक्क परे ।

‘कैलाश खोलामाथिको लगभग ९० प्रतिशत डाँडै सर्लक्कै बगेर तल आएको रहेछ,’ मनसुनले निम्त्याएका ठूला पहिरोको स्थलगत अध्ययन गरेका पोखरेलले कान्तिपुरलाई सुनाए, ‘पानी मात्र होइन, माटो, ढुंगा, रूखबिरुवा सबै एकै पटक बगेछन् । त्यसलाई स्लोभ फेलियर भनिन्छ ।’

 

केही दिनअघि बझाङको केदारस्युँ गाउँपालिका-८ मल्लेसीमा गएको पहिरो ।

स्थानीय बासिन्दाले त्यो स्तरको विपद् सय वर्षयताकै पहिलो भएको पोखरेललाई सुनाए । हुन पनि एकाएक आएको पहिरोसहितको बाढीले २५ घर रहेको सैनीबजारका २२ घर सिनित्तै पारेको छ । करिब ४० फिट गहिरो कैलाश खोला अहिले माथितिरबाट बगेर आएको बुल्डोर (ठूला ढुंगासहितको थिग्रेनी) को बाढीले आधाभन्दा बढी भाग पुरेको छ । गएको साता उक्त विपद् निम्तिएका बेला आसपासका साँफेबगर र मंगलसेन क्षेत्रमा केन्द्रित भएर छोटो अवधिमा मुसलधारे वर्षा (क्लाउड ब्रस्ट) भएको थियो । लगातारको वर्षाले जमिन गलाएपछि पहिरोको रूप लिएको हो । ‘लगातारको वर्षाले जमिन पूरै गलेको थियो, सोस्ने ठाउँ नै थिएन,’ पोखरेलले भने, ‘यसअघि छोटो अवधिमा त्यति ठूलो पानी परेको स्थानीयलाई थाहा छैन ।’

पर्वतको सरुनचौर दुर्लुङमा मनसुन प्रवेश भएकै भोलिपल्ट जेठ ३१ मा एकै स्थानमा केन्द्रित भएर मुसलधारे वर्षा भएकाले भेलपहिरो (डेब्रिज फ्लो) निम्तिएको थियो । डेब्रिज फ्लोले ठूल्ठूला रूखलाई जरैदेखि उखेलेर सोत्तर बनाउँदै बगाउने भएकाले क्षति गर्ने सम्भावना बढ्ता हुन्छ । भूगर्भविद्हरू गण्डकी र वाग्मती प्रदेशका हिमाली र पहाडी जिल्लाका पहिरोलाई भने २०७२ सालको भूकम्पसँग जोडेर हेर्छन् । ‘भूकम्पले थिलथिलो पारेको क्षेत्रमा पानी पर्नेबित्तिकै पहिले नै धाँजा फाटेको जमिन कमजोर बनेपछि स्वतः बगिहाल्छ,’ पोखरेलले भने ।

यो वर्ष गएको हिउँद (मंसिर–फागुन), मनसुनपूर्व (फागुन–जेठ) र मनसुन सुरु भएदेखि नै सरदरभन्दा बढी वर्षा भएको छ । त्यसैले पनि धेरैतिर जमिन गलेको छ । ‘भूकम्पले हल्लाएको जमिन स्थिर हुन धेरै वर्ष लाग्ने भएकाले त्यस्ता ठाउँमा वर्षा हुनेबित्तिकै जमिन बग्न थाल्छ,’ पुल्चोक इन्जिनियरिङ क्याम्पसका अध्यापकसमेत रहेका भूगर्भविद् वसन्तराज अधिकारीले भने, ‘सिन्धुपाल्चोकलगायतका क्षेत्रमा अहिले देखिएको समस्या त्यही हो ।’

भूगर्भविद् प्राध्यापक मेघराज धिताल भने भुइँचालोपछि मात्र पहिरोका प्रकोप बढेका हुन् भन्ने विश्लेषणसित सहमत छैनन् । धितालका अनुसार अहिले पहिरोको विपद् देखिएका स्थानहरूमा विगतमा कुनै न कुनै विपद्का घटना भएकै थिए । ‘उदाहरणका रूपमा सन् १९८७ जुन ३० मा परेको ठूलो वर्षाले सुनकोसीमा ठूलो बाढी आएको थियो, त्यसले बाह्रबिसेमा ठूलो क्षति निम्त्याएको थियो, बाढीले सडक नै बगाएपछि अरनिको राजमार्ग माथि सार्नुपरेको थियो,’ उनले भने । उनका अनुसार उक्त बाढीले कोदारीदेखि तल सुनकोसी जलाधार क्षेत्रमा ठूलो क्षति निम्त्याएको थियो । ‘जुरेको पहिरो, यो वर्ष सिन्धुपाल्चोकका सुनकोसी जलाधार क्षेत्र आसपास आएका सबै पहिरोलाई विगतका घटनासँग पनि जोड्नुपर्छ,’ धितालले भने, ‘एकै पटक पहिरो आएको होइन, कमजोर भूभाग भएकाले पानीको असरले पक्कै बढ्न मद्दत पुगेको हो ।’

 

विगतमा क्लाउड ब्रस्टका कारण कुलेखानी, ताप्लेजुङसहित विभिन्न स्थानमा ठूला पहिरो गएको उनले बताए । ७ वर्षअघि भारतको केदारनाथमा क्लाउड ब्रस्टकै कारण बाढी आएको थियो । ‘पानी पर्दैमा पहिरो जाने भन्ने होइन । कुनै सानो क्षेत्रमा केन्द्रित भएर लगातार वर्षा भइरह्यो भने पहिरोको सम्भावना अत्यधिक हुन्छ,’ धितालले भने, ‘माटोमा छिद्र हुन्छ, वर्षातको पानी त्यहींबाट तलसम्म पुग्छ, जोडले पानी परेपछि जमिन तल धकेलिन्छ, त्यो पहिरो हो ।’

इन्जिनियरिङ भूगर्भविद् सुबोध ढकाल यो वर्षको मनसुनमा डेब्रिस फ्लो, डेब्रिस स्लाइड, मड फ्लो र अर्थ स्लाइडजस्ता पहिरो बढी देखिएको बताउँछन् । ‘पहाडको कुनै कमजोर ठाउँबाट पहिरो सुरु भएपछि त्यसको असरले तल्लो भाग पनि सँगै बग्दा ठूलो रूप लिएको देखिन्छ,’ उनले भने, ‘योपटक केही न केही संकेत देखिएकै ठाउँमा पहिरो गएको छ ।’ पहिरोको संकेत देखिएकै र जोखिमयुक्त पहिचान भएकै स्थानमा पहिरोका धेरै घटना भएकाले पूर्वसंकेतको अध्ययन गर्नु अति जरुरी भएको ढकाल बताउँछन् । ‘पुरानो पहिरो भएको ठाउँमा पुनः पहिरो जाने क्रम पनि अहिले बढी देखियो,’ उनले भने, ‘पहिरो बढ्नुको अर्को कारण मनसुन बढी सक्रिय हुनु पनि हो ।‘

स्थानीय तहहरूले जथाभावी खनेका सडक सञ्जालले पनि पहिरो बढ्न मद्दत पुगेको ढकालको बुझाइ छ । जलाधार विज्ञ उपाध्याका अनुसार प्राकृतिक रूपमै जमिन खासगरी पहाडमा परिवर्तन भइरहन्छ र चट्टानहरू निरन्तर ढुट्टिइरहन्छन् । जमिनमा पानी सोसिने र भित्रभित्रै बग्ने प्रक्रिया सधैं एकै हुँदैन । ‘बाढीपहिरोका कारण जमिनको स्वरूप निरन्तर फेरिन्छ, जसले गर्दा त्यसपछिका वर्षामा आउने भलको बाटो बदलिरहन्छ,’ उपाध्याले भने, ‘अघिल्लो वर्षको भलले ओसार्न नसकेको गेग्रान त्यसपछिको वर्षाको भलले ओसार्छ, कमजोर ठाउँमा पहिले नआएको भल आउन सक्छ ।’ उनले बाढीपहिरो नियन्त्रण गर्न क्षति कम हुने किसिमको भूउपयोगका लागि हस्तक्षेप हुनुपर्नेमा जोड दिए । ‘अर्को भनेको यससँग जुध्न स्थानीय समुदायको क्षमता बढाउनुपर्छ,’ उनले भने ।

 

 

पूर्वसूचना प्रणाली जरुरी

जल तथा मौसम विज्ञान विभागले नदीमा पानीको बहाव र बाढीको अनुमान गरे पनि पहिरोबारे राष्ट्रियस्तरमा पूर्वसूचना प्रणाली विकास भएको छैन । दोलखाको दुर्गम सुन्द्रावतीको थामी बस्तीमा नमुना परियोजना (पाइलट प्रोजेक्ट) सञ्चालनमा छ । वन तथा भूसंरक्षण मन्त्रालयअन्तर्गतको तत्कालीन जलाधार तथा भूसंरक्षण विभाग र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को साझेदारीमा उक्त कार्यक्रम २०७५ सालमा सुरु भएको हो । पहिरोको पूर्वसूचना दिने त्यो नै मुलुकमा रहेको पहिलो प्रविधि हो । त्यस क्षेत्रमा पहिरोको जोखिम रहेका चार स्थानमा सेन्सर उपकरण जोडिएको छ । सेन्सरले जमिन चल्ने अवस्थाबारे मुख्य उपकरणलाई ‘अलर्ट’ गराउँछ । त्यसपछि कति जमिन चलमलायो भन्ने आधारमा साइरन बज्छ । पहिलो साइरनले जमिन कति चल्यो भनेर ‘अलर्ट’ रहन सूचना दिन्छ । दोस्रोपटक बजेपछि सुरक्षित स्थानमा जानुपर्ने हुन्छ ।

उपकरणमार्फत जमिनको चाल, वर्षा मापन र पहिरोको गतिबारे वडापालिका, स्थानीय जिम्मेवार व्यक्ति, प्रहरी–प्रशासनलगायतलाई एसएमएस पठाइन्छ । यो प्रणालीले थामी बस्तीका १ सय १४ घरका करिब ५ सय व्यक्तिलाई पहिरोको जोखिमबाट बचाउन सहयोग पुगेको छ । भूगर्भविद् वसन्तराज अधिकारीले यो प्रणालीमा धेरै रकम खर्च नहुने र सरल भएकाले समुदायस्तरमा देशभर फैलाउन सकिए सम्भावित जोखिम न्यून गर्न मद्दत पुग्ने बताए । ‘पहिरोको जोखिम भएका मुलुकका सबै राजमार्ग र जोखिमयुक्त बस्तीमा यो प्रणाली विस्तार गर्न सकियो भने क्षति न्यूनीकरण गर्न मद्दत पुग्छ,’ उनले भने ।

बढ्दै जलवायुजन्य जोखिम

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी सञ्जाल (आईपीसीसी) का अनुसार जलवायु परिवर्तनका कारण बाढीपहिरो, चरम मौसम (एक्स्ट्रिम वेदर), खाद्य संकट, डढेलो, आँधीबेहरी, हिमपहिरो, हिमताल विस्फोट, तातो वायुजस्ता घटना बढेका छन् । राष्ट्रिय योजना आयोगको अध्ययन प्रतिवेदनअनुसार दुई वर्षअघि तराई क्षेत्रमा मनसुन अवधिमा आएको बाढीले करिब ६२ अर्ब रुपैयाँ बराबरको क्षति गर्यो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को ‘गभर्नेन्स अफ क्लाइमेट चेन्ज फाइनाइन्स प्रोग्राम’ को अध्ययनले पनि हरेक वर्ष जलवायुजन्य क्षति २८ अर्ब रुपैयाँभन्दा बढी हुने गरेको देखाएको छ । गृह मन्त्रालयका अनुसार मनसुनबाहेकका सिजनमा निम्तिने प्रकोपले हुने क्षति आकलन गरिएकै छैन ।

जलवायु परिवर्तनबाट भएका आर्थिक प्रभाव मूल्यांकन गरिएको एक अर्को अध्ययनले कृषि, जलविद्युत् र जल उत्पन्न प्रकोप क्षेत्रमा वार्षिक कुल गार्हस्थ्य उत्पादनको १.५ देखि २ प्रतिशतसम्म असर पुगेको देखाएको छ । जानकारहरूले सन् २०५० देखि जलवायु परिवर्तनले हुने प्रतिकूल अवस्थाले कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशतका दरले नोक्सान हुने आकलन गरेका छन् । आईपीसीसीले तयार पारेको प्रतिवेदनअनुसार पृथ्वीको तापक्रमलाई १.५ डिग्रीभन्दा बढी बढ्न नदिन विभिन्न प्रजातिलाई व्यापक रूपमा विनाश हुनबाट जोगाउन तथा सुक्खा र बाढीको समस्या रोक्न जरुरी छ ।

विकसित मुलुकहरूलाई दबाब

जलवायुजन्य जोखिम न्यूनीकरण र नोक्सानीलाई सम्बोधन गर्न आवश्यक आर्थिक लगानी जुटाउनेबारे नेपालसहितका पर्वतीय र टापु मुलुकहरूले गत वर्ष मंसिरमा स्पेनको म्याड्रिडमा भएको कोप २५ (जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष मुलुकको सम्मेलन) मा पनि दबाब दिएका थिए । उक्त विषयमा यूएनएफसीसीसीका १ सय ९७ वटा पक्ष मुलुकको बैठकले सहमति जुटाउन भने सकेको थिएन ।

जलवायुजन्य जोखिम झेलिरहेका अतिकम विकसित र टापु देशले हानि–नोक्सानीका क्षेत्रमा लगानी गर्न अलग्गै संयन्त्र बनाउन र त्यसमा वित्तको सुनिश्चित गर्नसमेत दबाब दिएका थिए । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले अहिलेकै हिसाबले विश्वमा कार्बन उत्सर्जन भइरहने हो भने सन् २१०० सम्ममा विश्वको तापक्रम ४.२ देखि ६.५ डिग्रीसम्म पुग्ने चेतावनी गत महिना दिएको छ ।

त्यसको बढी असर हाम्रा सुन्दर हिमाल, जनजीवन र अर्थतन्त्रमा पर्नेछ । पृथ्वीको औसत तापक्रम १.५ डिग्री सेल्सियस मात्र बढे पनि यो शताब्दीको अन्त्यमा हिमालबाट एक तिहाइ हिउँ पग्लने अनुमानसहितको प्रतिवेदन दिइसकेको छ ।

 

प्रकाशित : भाद्र ८, २०७७ ०८:४५