
[नागरिक]संवेदनशील क्षेत्रका किसानलाई ‘बाढी बिमा’

पुष्पराज जोशी
कैलाली
८ पुस २०७८
बाढीको उच्च जोखिममा रहेको कैलालीको पूर्वी क्षेत्रअन्तर्गत पर्ने टीकापुर र जानकी गाउँपालिकाका किसानलाई लक्षित गर्दै ‘बाढी बिमा’ सुरु गरिएको छ। बाढीले गर्दा किसानको बर्खेबाली क्षति हुने गरेको भन्दै सो क्षेत्रका किसानलाई लक्षित गर्दै बाढी बिमा सुरु गरिएको हो।
सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र प्राक्टिकल एक्सनको सहकार्यमा सो कैलालीको पूर्वी क्षेत्रका १० वटा बाढी प्रभावित बस्तीका किसानको बालीको क्षति सुरक्षित गर्न बाढी बिमा कार्यक्रम लागू गरिएको हो। बाढीबाट हुन सक्ने आर्थिक क्षति न्यूनीकरण गर्न निश्चित बाढी सूचकांकका आधारमा बाढी प्रभावित क्षेत्रका किसानलाई बाढी बिमा कार्यक्रम लागू गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् सम्पर्क व्यक्ति लक्ष्मीप्रसाद जोशीले बताए। उनले भने, ‘अहिलेलाई हामीले कैलालीको टीकापुर र जानकी गाउँपालिकाका १० वटा समुदायमा यसलाई परीक्षणका रूपमा लागू गरेका छौं।’

परीक्षणमा राम्रो भए अन्य विपद्लाई लक्षित गरी प्रदेशभर लागू गरिने उनले बताए। ‘यो पाइलट प्रोजेक्टका रूपमा लागू भएको छ,’ उनले भने, ‘यसको प्रयोग समुदायमा राम्रो देखिए प्रदेशैभरि लागू गरिनेछ।’ यस्तो कार्यक्रमले गरिबीको रेखामुनि रहेका किसानको जोखिम हस्तान्तरण भए उनीहरूको आर्थिक क्षति न्यूनीकरण हुनुका साथै कृषि पेसामा पनि हौसला बढ्ने उनले बताए।
कर्णाली नदीको तल्लो तटीय क्षेत्र रहेको बाढी प्रभावित टीकापुर र जानकी गाउँपालिकाका १० समुदायमा बसोबास गर्ने न्यून आय भएका किसानका लागि बाढी बिमा लागू भएको बताउँदै प्राक्टिकल एक्सनका विपद् जोखिम न्यूनीकरण तथा जलवायु अनुकूलनका टिम लिडर धर्मराज उप्रेतीले भने, ‘जोखिम हस्तान्तरण पद्धतिमा पहुँच कायम गरेर बाढी जोखिम क्षेत्रमा बसोबास गर्ने साना किसान तथा सीमान्तकृत वर्गको आर्थिक क्षति कम गर्न कार्यक्रम लागू गरिएको छ।’
कर्णाली नदी किनारको जोखिम क्षेत्रमा निर्माण गरिएको तोकिएको सूचकांकमा बाढी पुगेपछि किसानलाई क्षतिबापतको बिमा रकम उपलब्ध गराइने उनले बताए। ‘हामीले निश्चित गरेर तोकिएको सूचकांकमा बाढी आए त्यसबाट किसानलाई हुने क्षतिको भरिपूरण गरिनेछ,’ उनले भने, ‘त्यो एउटा वैज्ञानिक मापदण्डका आधारमा बनाइएको छ।’ बाढी बिमा अहिलेसम्म नेपालमा पहिलो भएको बताउँदै उनले भने, ‘अहिलेसम्म यस्तो बिमा भारतलगायतका अन्य मुलुकमा भए पनि नेपालमा भने यो पाइलट कार्यक्रमका रूपमा पहिलो हो।’
बाढीप्रभावित क्षेत्रका किसानलाई लक्षित गर्दै पहिलोपटक बाढी बिमा कार्यक्रम लागू गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बताइन्। ‘विपद्कै पूर्व तयारीका बेला पाइलट कार्यक्रमका रूपमा लागू भएको छ, यसले किसानमा राम्रो प्रभाव पार्न सके प्रदेशभरि नै लागू गर्नेछौं,’ किसानले मिहिनेत गरेर रोपेको धान भित्र्याउन नपाउँदै आउने बाढीले आर्थिक अवस्था नाजुक पार्ने भएकाले त्यसबाट क्षति कम गर्न उनीहरूलाई बाढी बिमाले थप सहयोग पुग्ने उनले बताइन्। बाढी बिमा कार्यक्रमबाट कैलालीको टीकापुर र जानकी गाउँपालिकाका १० वटा बस्तीका ६ सय ५३ घरधुरीका किसान लाभान्वित हुने बताइएको छ।
गत असोज ३१ गतेदेखि लगातार चार दिनको वर्षात्ले कैलालीको पूर्वी क्षेत्रका किसानले भिœयाउन ठिक्क पारेको धानबाली बगाउनुका साथै भिजाइदिएको थियो। वर्षात्ले सुदूरपश्चिममा ८४ हजार ९ सय १७ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीमा क्षति पुगेको थियो। प्रत्येक जिल्लाका स्थानीय तहका कृषि शाखाले संकलन गरेको तथ्यांकअनुसार सुदूरपश्चिमका दार्चुलाबाहेकका आठ जिल्लामा ६ अर्ब ३७ करोड रूपैयाँ बराबरको धान बालीमा क्षति पुगेको प्रदेश कृषि निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशी बताउँछन्। उनले भने, ‘स्थानीय तहको कृषि शाखाले दिएको तथ्यांकले नै सुदूरपश्चिममा यसपालिको बाढी र वर्षातले ठूलो मात्रामा धान खेतीमा क्षति पुगेको देखिन्छ।’
यस्तै सुदूरपश्चिममा धान बालीबाहेक तरकारी, दलहन, तेलहन र फलफूलमा पनि उत्तिकै मात्रामा क्षति पुगेको थियो। सुदूरपश्चिममा वर्षात्ले २ हजार ५ सय १ हेक्टर क्षेत्रफलमा लगाइएको आलु, ४ हजार ९ सय हेक्टरमा लगाइएको तोरी, २ हजार ७८ हेक्टरमा लगाइएको केरा, २ हजार ४ सय २१ हेक्टर क्षेत्रफलमा लगाइएको तरकारी र ९ सय ९९ हेक्टर क्षेत्रफलमा लगाइएको कोदोमा क्षति पुगेको थियो।
यो समाचार नागरिक दैनिकमा पौष ८ गते प्रकाशित भएको र यहाँ साभार गरिएको हो। पूरा समाचार पढ्र्न यहाँ थिच्नुहोस्।