
सगरमाथा संवाद : तयारीलाई तिब्र बनाउदै सरकार !

आगामी चैत २० देखि तीन दिनसम्म काठमाडौंमा हुने ‘सगरमाथा संवाद’ को तयारीलाई सरकारले तिब्र बनाउदै लागेको छ ।
गत वैशाख २ को मन्त्रिपरिषद्ले राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रिय तथा विश्वस्तरका समसामयिक तथा साझा चासोका विषय एवं मुद्दामा हरेक दुई वर्षमा नेपालमा विश्वस्तरको संवाद सञ्चालन गर्ने उद्देश्यले सगरमाथा संवादका रूपमा बहस गर्ने निर्णय गरेको थियो । संवादको पहिलो संस्करणमा जलवायु परिवर्तनको मुद्दामा बहस गर्न खोजिएको छ । जलवायु परिवर्तनको मुद्दा प्राविधिक भए पनि पछिल्ला वर्षमा राजनीतिक मुद्दाका रूपमा अघि बढेको छ । ठूला, विकसित र प्रदूषक मुलुकहरूले पेरिस सम्झौताअनुसार पालना गर्नुपर्ने कतिपय जिम्मेवारीलाई अस्वीकार गर्दै आएका छन् । अमेरिकाले पेरिस सम्झौतालाई अस्वीकार गर्दै जलवायुका नाममा कुनै पनि सहयोग गर्न तयार नभएको बताउँदै आएको छ ।
सगरमाथा संवादको मुख्य विषय ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानवको भविष्य’ तय गरिएको छ । उद्घाटन र समापन सत्र, दुई वटा नागरिक संवादसहित जम्मा १२ विषयगत सत्र रहनेछन् । त्यसमा विषयगत ज्ञान भएका जानकारहरूले प्रस्तुति दिनेछन् । प्रस्तुति नेपाली र विदेशी दुवैको हुनेछ । अनुकूलन र जीविकोपार्जन, खाद्य र पानी सुरक्षा, जलवायु परिवर्तनले निम्त्याएका विपत्ति, मानव, समृद्धि र प्रकृति, दिगो व्यापारका अभ्यासहरू, प्रविधिका लागि वित्त र अनुसन्धान, प्रकृतिमा आधारित अनुकूलनका उपाय र परम्परागत ज्ञान जस्ता विषयमा विशेषज्ञहरूको प्रस्तुति रहनेछ । हरित अर्थतन्त्र, दिगो भविष्यका लागि कार्ययोजना, जलवायु न्याय : महिला र युवाको भूमिकामा पनि बहस हुनेछ । जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा बढ्ता असर हिमाल, हिमनदी, हिमताल, हिमाली जनजीवन, प्रकृति, वन्यजन्तु, चराचुरुंगीलगायत समग्र जैविक विविधतामा देखापरेको छ भने नयाँखाले स्वास्थ्य समस्यासमेत भित्रिरहेका छन् ।
सगरमाथा संवाद का लागि सरकारले सार्क र बिमस्टेकसहित दुई दर्जनभन्दा बढी देशका राजनीतिज्ञ, कलाकार, सेलेब्रिटी र जलवायु अभियन्तालाई निम्तो गरेको छ । संवादमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, हलिउड स्टार लियोनार्दो डिक्याप्रियो, स्वीडेनकी प्रख्यात जलवायु अभियन्ता ग्रेटा थनवर्ग, अनलाइन बिजनेस कम्पनी अलिबाबा समूहका संस्थापक ज्याक मालगायतलाई समेत निमन्त्रणा दिइएको छ । यसैको पूर्वतयारीका स्वरूप माघ २६ गते आइतबार ‘राष्ट्रिय संवाद’ समेत गरिसकिएको छ ।
थप जानकारीका लागि : SagarmathaSambad