सुर्खेतमा जडान गरियो मौसमसम्बन्धी पूर्वसूचना दिने ‘राडार’

डिसेम्बर 3, 2019

साभार ः सेतोपाटी

सुर्खेत र दैलेखको सीमाना रातानाङ्लामा जडान गरिएको नेपालको पहिलो मौसमी राडार। तस्विर : दिपकजंग शाही/सेतोपाटी

 

सुर्खेतमा जडान गरिएको मौसमसम्बन्धी पूर्वसूचना दिने प्रणाली ‘रेडियो डिटेक्सन एण्ड रेन्जिङ’ (राडार)को उद्घाटन गरिएको छ। सुर्खेत र दैलेखको सीमानामा पर्ने रातानाङ्लामा जडान गरिएको राडारको मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले उद्घाटन गरेका हुन्। उद्घाटनका क्रममा मन्त्री पुनले पूर्वसूचना प्रणालीले नागरिकको सुरक्षामा महत्वपूर्ण सहयोग गर्ने बताए। मौसमअनुसार जोखिमको सम्भावना पुग्न सक्ने क्षतिका बारेमा जानकारी लिन राडारले दिने भएकाले यसको सदुपयोगले जोखिम व्यवस्थापनमा सहयोग पुग्ने उनले बताए। मन्त्री पुनले राडारले दिने सूचना हरेक नागरिकसम्म पुग्ने व्यवस्था मिलाउन समेत आग्रह गरे।

०७५ कात्तिक १४ गते निर्माण सम्पन्न भएको राडार विभिन्न अन्यौलका कारण सञ्चालनमा आउन सकेको थिएन। यसअघि यसबाट लिइने जानकारी अमेरिकामा रहेको इन्टरप्राइज इलेक्ट्रोनिक्स कोअपरेसन (सिइसी)ले संकलन गर्दै आएको थियो। सोही कम्पनीसँगको सम्झौतामा नेपालमा राडार जडान गर्ने प्रक्रिया चलेको छ। अब सुर्खेतमा जडित राडारले दिने सूचना जल तथा मौसम विज्ञान विभाग काठमाडौंबाट संकलन गरिनेछ।

 

संकलित सूचना प्रवाह तथा अन्य विषयमा समन्वय भने सुर्खेतमा रहेको जल तथा मौसम विज्ञान कार्यालयले गर्नेछ।